कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्ला केही दिनयता विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेपछि अन्नपूर्ण क्षेत्रमा पर्यटन गतिविधि चलायमान बनेको हो।
निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको पर्यटन व्यवसायीले बताएका छन्।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबिसीमा पर्यटकलाई राख्न सक्ने ६ वटा होटल तथा लज छन्, जहाँ एकपटकमा करिब ३५० जनासम्मलाई व्यवस्थापन गर्न सकिन्छ।
यसअघि वर्षा तथा बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक र पदमार्ग अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको थियो। बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानका कारण लामो समय अवरुद्ध सडक गाउँपालिकाले करिब डेढ महिनाको प्रयासपछि असोजको पहिलो साता सञ्चालनमा ल्याएको हो।
मनाङ र मनास्लु क्षेत्रतर्फ जाने केही सडक तथा पदमार्ग अझै पहिरोबाट प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेका छन्। अन्नपूर्ण क्षेत्रतर्फको बाटो तुलनात्मक रूपमा सहज भएकाले दक्षिण एसियाली मुलुकका पर्यटकको आकर्षण बढेको व्यवसायीको भनाइ छ।
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–एबिसीसम्मका सडक अहिले सञ्चालनमा छन्। बिरेठाँटी र स्याउली बजारको सडक खुलेपछि घान्द्रुक हुँदै माथिल्लो क्षेत्रमा समेत आवागमन सहज भएको छ। केही स्थानमा अस्थायी व्यवस्था गरेर पदमार्गसमेत सञ्चालनमा ल्याइएको छ।
यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध भएको पदमार्गमा काठे फड्के निर्माण गरी आवागमन पुनः सञ्चालन गरिएको छ।
समुद्री सतहबाट करिब ४ हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले विश्वकै चर्चित पदयात्रा गन्तव्यका रूपमा परिचित छ।
एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति र स्थानीय जीवनशैलीसँगै हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला तथा हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन्। माछापुच्छ्रे आधार शिविर हुँदै एबिसी पुग्ने पदमार्गमा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायत हिमाललाई नजिकबाट नियाल्न सकिन्छ।
पर्यटकको आवागमन बढेसँगै स्थानीय तहले स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिएको छ। माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक र स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
उच्च उचाइका कारण पर्यटकमा लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिने र विगतमा गम्भीर घटना समेत हुने गरेकाले पदयात्रा क्षेत्रमा प्राथमिक उपचार केन्द्र सञ्चालनले पर्यटकको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्ने देखिएको छ।