Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै


८, कात्तिक २०८३
  • 115
    SHARES
  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रम आयोजना हुने भएको छ। कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुने कार्यक्रमले नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिनेछ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको आयोजनामा हुन लागेको कार्यक्रमको नारा ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ राखिएको छ।

    कार्यक्रमका संयोजक एवं एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

    सापकोटाले भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना हुने बताए। उनका अनुसार प्रचार सामग्री वितरणमा मात्र सीमित नभई भारतीय पर्यटन व्यवसायीलाई नेपाली गन्तव्यको प्रत्यक्ष अनुभव गराउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेटघाट गराउने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने योजनासहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

    २१ भारतीय पर्यटन व्यवसायी सहभागी हुने

    कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नेछन्।

    कार्यक्रममा व्यावसायिक भेटघाट, पर्यटकीय गन्तव्यको परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण र आगामी दिनमा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या बढाउने सम्भावनाबारे छलफल गरिने आयोजकले जनाएको छ।

    भारतीय पर्यटकका लागि नेपाल नजिकको र सहज गन्तव्य भएकाले धार्मिक आस्था, सांस्कृतिक समानता तथा प्राकृतिक विविधतालाई पर्यटन प्रवर्द्धनको आधार बनाउन सकिने आयोजकको विश्वास छ। पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तार हुँदा नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा स्थानीय पर्यटन व्यवसायले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

    लुम्बिनीदेखि चितवनसम्म पर्यटन सर्किट बनाउने लक्ष्य

    कार्यक्रमको अर्को महत्त्वपूर्ण उद्देश्य लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्नु हो। यसका लागि भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा समेट्ने लक्ष्य राखिएको छ।

    यी क्षेत्रलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्न सके धार्मिक, ऐतिहासिक, सांस्कृतिक र वन्यजन्तु पर्यटनको संयुक्त प्याकेज तयार गर्न सकिने सम्भावना छ। यसबाट पर्यटकको बसाइ अवधि बढाउनुका साथै विभिन्न गन्तव्यमा पर्यटकको आवागमन विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपाल–भारत पर्यटन सहकार्यलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको यस कार्यक्रमले भारतीय बजारमा नेपालको पहिचान विस्तार गर्नुका साथै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायबीच दीर्घकालीन साझेदारी निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend