चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको हो। दसैँको अवधिमा २० हजार ८७ जनाले निकुञ्ज भ्रमण गरेका छन्।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भ्रमण गर्नेमा ११ हजार ८९१ नेपाली, सात हजार ३६५ तेस्रो मुलुकका र ८३१ सार्क राष्ट्रका पर्यटक छन्। यस अवधिमा पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
सङ्कलित राजस्वमध्ये नेपाली पर्यटकबाट १७ लाख ८३ हजार ६५० रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट आठ लाख ३१ हजार रुपैयाँ र तेस्रो मुलुकका पर्यटकबाट एक करोड ४७ लाख ३० हजार रुपैयाँ प्राप्त भएको तिवारीले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु तथा जैविक विविधता अवलोकनका लागि प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पर्यटक आउने गर्छन्। पछिल्लो समय सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत देखिएपछि पर्यटकको आकर्षण थप बढेको छ।
वर्षायाममा निकुञ्जभित्र जिप सफारी बन्द गरिए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी सञ्चालन हुँदै आएका छन्। निकुञ्जभित्र भने सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन्।
दसैँमा देखिएको पर्यटकको चहलपहलले चितवनको वन्यजन्तु पर्यटनमा निकुञ्जको महत्त्व पुनः उजागर गरेको छ। पर्यटकको बढ्दो आकर्षणसँगै वन्यजन्तु संरक्षण, प्राकृतिक सम्पदाको सुरक्षा र स्थानीय पर्यटन व्यवसायको प्रवर्द्धनलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ।