काठमाडौं । चीनसँगको व्यापारिक सम्बन्ध र आपूर्ति व्यवस्थालाई सहज बनाउने उद्देश्यसहित तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म नाका अस्थायी रूपमा सञ्चालनमा आउनेछ।
मन्त्रालयका अनुसार यस अवधिमा नाकाबाट मालवाहक सवारीसाधनलाई मात्रै आवतजावत गर्न अनुमति दिइएको छ। यात्रुवाहक सवारीसाधन तथा सर्वसाधारणको आवागमनबारे भने मन्त्रालयले उल्लेख गरेको छैन।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षले गरेको आग्रहलाई सम्बोधन गर्दै चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
नाका तीन दिनका लागि खुल्ने भएपछि नेपाल–चीनबीचको व्यापारिक आवागमन सहज हुने र चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तातोपानी नाका नेपाल र चीनबीचको महत्वपूर्ण व्यापारिक मार्गमध्ये एक हो। यस नाकाको सञ्चालनले आयात–निर्यात गतिविधि अघि बढाउन तथा व्यवसायीलाई सामान ढुवानीमा सहजीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।