अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको आरोप लगाउँदै यसबाट देश र जनताको हित हुन नसक्ने दाबी गरेका छन्। उनले विदेशी हस्तक्षेपविरुद्ध सचेत र संगठित हुँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली जनतालाई आह्वान समेत गरेका छन्।
कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार अर्घाखाँचीको ऐतिहासिक अर्घा–रानीगैरामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको विशाल सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो धारणा व्यक्त गरेका हुन्।
वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता र संघीयताको औचित्यमाथि टिप्पणी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अमेरिकी साम्राज्यवादले खटाएका प्रतिनिधिहरूको ‘ससुराली’ को संज्ञा दिए। विदेशी शक्तिको आडमा राजनीति गर्नेहरूले देश निर्माण गर्न नसक्ने उनको टिप्पणी थियो।
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली जनता दृढतापूर्वक उभिनुपर्नेमा जोड दिँदै अध्यक्ष केसीले आवश्यक परे देशका लागि ज्यान दिनसमेत तयार रहनुपर्ने बताए। उनले इरानका नागरिकजस्तै राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिन नेपाली जनतालाई आह्वान गरे।
अध्यक्ष केसीले संघीय व्यवस्थाले मुलुकको अर्थतन्त्रमा अनावश्यक आर्थिक भार थपेको दाबी गर्दै संघीयता खारेज गर्नुपर्ने धारणा राखे। संघीयता कायम रहे देशको अस्तित्वसमेत संकटमा पर्न सक्ने चिन्ता व्यक्त गर्दै उनले मुलुकको आर्थिक अवस्था र भविष्यलाई ध्यानमा राखेर यस विषयमा गम्भीर निर्णय लिनुपर्ने बताए।
सत्तामा पटक-पटक पुगेका पुराना राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केसीले विगतमा आफ्ना गल्ती सच्याउन र कार्यशैली सुधार्न गरिएका आग्रहलाई बेवास्ता गरिएकै कारण भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे।
राजनीतिक दलहरूले जनताको भावना, असन्तुष्टि र परिवर्तनको चाहनालाई समयमै सम्बोधन गर्न नसके गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी थियो। जनतालाई राजनीतिक भ्रममा नपर्न आग्रह गर्दै उनले ‘रुखको बाँदर झुक्किएजसरी’ झुक्किन नहुने बताए। राजनीतिक दल र शक्तिहरूको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र देशको भविष्यलाई केन्द्रमा राख्नुपर्नेमा पनि उनले जोड दिए।
विभिन्न नेताद्वारा समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका थिए । जसअनुसार राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य तथा सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेल, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष कुलराज खनाल, अखिल छैठौँका केन्द्रीय महासचिव पुरन पोख्रेल र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनाललगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, राजनीतिक दलहरूको भूमिका तथा जनताका सवालमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकताबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमसहित केन्द्र र जिल्लास्तरका कलाकारहरूले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए। हजारौँ दर्शकको उपस्थितिमा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले सभालाई थप आकर्षक बनाएको थियो।
गीत तथा नृत्यमार्फत नेपाली मौलिक संस्कृतिको संरक्षण, सामाजिक विकृतिविरुद्ध जनचेतना र वर्गीय एकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
पञ्चायतकालदेखि निरन्तरता : रानीगैराको जनसभा राजनीतिक र सांस्कृतिक पहिचान
अर्घाखाँचीको ऐतिहासिक अर्घा-रानीगैरामा कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुँदै आएको राष्ट्रिय जनमोर्चाको जनसभा जिल्लाको राजनीतिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको कार्यक्रमका रूपमा स्थापित छ। आयोजकका अनुसार पञ्चायतकालदेखि निरन्तरता पाउँदै आएको यस सभालाई राष्ट्रिय राजनीतिको समीक्षा गर्ने, पार्टीका विचार जनतामाझ पुर्याउने र सरकार तथा सत्तासीन दलहरूलाई खबरदारी गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिँदै आएको छ।
यस कार्यक्रममार्फत राष्ट्रिय राजनीतिको अवस्था, राजनीतिक दलहरूको भूमिका र समसामयिक विषयमा जनतालाई जानकारी गराउने तथा जनसरोकारका मुद्दामा बहस सिर्जना गर्ने उद्देश्य राखिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।
सभाको अर्को महत्त्वपूर्ण पक्ष जनवादी सांस्कृतिक अभियान हो। रक्तिम सांस्कृतिक अभियानका गीत तथा नृत्यमार्फत नेपाली मौलिक संस्कृतिको संरक्षण, पाश्चात्य संस्कृतिको प्रभावबारे सचेतना र समाजमा बढ्दै गएका सांस्कृतिक विकृतिविरुद्ध जनचेतना फैलाउने प्रयास गरिँदै आएको छ।
जनगायक जीवन शर्माले गाएको ‘अर्घाको डाँडैमा पूर्णिमाको दिन, आऊ सबै दुःख बिसाई बसौँ एकैछिन’ बोलको गीतले पनि अर्घा र कोजाग्रत पूर्णिमाको सांस्कृतिक महत्त्वलाई जनस्तरमा स्थापित गर्न योगदान पुर्याएको छ। उक्त गीतमा अर्घाको भौगोलिक पहिचानसँगै श्रमजीवी जनताको जीवन, आपसी आत्मीयता र वर्गीय एकताको भाव अभिव्यक्त भएको छ।
यसरी अर्घाको रानीगैरामा हरेक कोजाग्रत पूर्णिमामा आयोजना हुने जनसभा राष्ट्रिय जनमोर्चाका लागि राजनीतिक विचार सम्प्रेषण, सरकारलाई खबरदारी र जनवादी संस्कृतिको संरक्षणलाई एकै ठाउँमा जोड्ने वार्षिक मञ्चका रूपमा विकसित हुँदै आएको छ।