काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ। सोमबार बिहान ६ः३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको हो।
उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन्। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
भारी हिमपातका कारण पर्यटकहरू दुर्गम क्षेत्रमा फसेपछि उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको थियो। सकुशल उद्धारसँगै उनीहरू ठूलो जोखिमबाट जोगिएका छन्।