काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनमा समय लागेपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम भइरहेको छ। आइतबार पनि विवरण संकलन तथा कागजात मिलाउने काम जारी रहेको उनले जानकारी दिए।
यसअघि बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो। राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्य निर्वाचित भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनले २० पदाधिकारीसहित २११ केन्द्रीय सदस्य चयन गरेको थियो। नवनिर्वाचित कार्यसमितिले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा पहिलो बैठकसमेत सम्पन्न गरिसकेको छ।
यद्यपि, नयाँ कार्यसमितिका १३ जनाको शपथग्रहण भने अझै बाँकी छ। बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए।
प्रहरी अनुसन्धानको दायरामा रहेका विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवको शपथ अनुसन्धान टुंगो नलागेसम्म स्थगित गरिएको छ। बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ।