कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलबाट आइतबार दिउँसो करिब २ बजे उनीहरू पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त प्रहरी टोली पसलमा पुगेको थियो।
प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा प्रहरी सहायक निरीक्षक सागर भट्टराईले सानो हतियारबाट दुई राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउँद्दीन मुसलमान र बाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन्।
प्रहरीले उनीहरूका साथबाट २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। युपी ५५ एभी २६५९ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि प्लास्टिकको थैलीमा लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। लागुऔषध नियन्त्रणका लागि निगरानी बढाइएको र कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही तीव्र पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताएका छन्।