कपिलवस्तु। विजयादशमीको उल्लाससँगै कपिलवस्तुमा दुर्गा भगवतीका मूर्ति प्रदर्शनले दसैँको रौनक बढाएको छ। जिल्लाका १० वटै पालिकामा गरी ५१३ वटा दुर्गा मूर्ति प्रदर्शनका लागि निकालिएका छन्। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मूर्ति प्रदर्शनलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनले जिल्लाभर सुरक्षा सतर्कता बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष प्रदर्शनका लागि निकालिएका मूर्तिको सङ्ख्या गत वर्षको तुलनामा बढेको छ। गत वर्ष जिल्लामा ४९६ वटा मूर्ति निकालिएकामा यस वर्ष ५१३ पुगेका छन्। यसले जिल्लामा दुर्गा पूजाप्रतिको उत्साह र धार्मिक गतिविधिको विस्तारलाई झल्काएको छ।
घटस्थापनादेखि नवरात्रका विभिन्न दिनमा विशेष पूजापाठ गरी सजाइएका दुर्गा मूर्ति प्रदर्शनमा निकालिएसँगै गाउँ तथा सहरमा दसैँको चहलपहल बढेको छ। विशेषगरी साँझ र रातिको समयमा भक्तजनहरू दुर्गा भगवतीको दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकामा सबैभन्दा बढी ९६ वटा मूर्ति प्रदर्शनका लागि निकालिएका छन्। कृष्णनगरमा ८६, बुद्धभूमिमा ६८, यशोधरामा ५५, महाराजगन्जमा ४४, शिवराजमा ३८, शुद्धोधनमा ३६, मायादेवीमा २८ र बाणगंगामा २४ वटा मूर्ति निकालिएका छन्। प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जिल्लाका विभिन्न स्थानमा मूर्ति प्रदर्शन भइरहेको जानकारी दिएका छन्।
१ हजार ९२० भन्दा बढी सुरक्षाकर्मी परिचालन
दसैँका बेला हुने भीडभाड, मूर्ति दर्शन तथा विसर्जनका क्रममा हुन सक्ने सम्भावित घटना र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्लाका कृष्णनगर र महाराजगन्जलाई विशेष संवेदनशील क्षेत्रका रूपमा राखेर सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत ६४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरिएका छन्। सम्भावित घटनामा तत्काल प्रतिक्रिया दिन तथा शान्तिसुरक्षा कायम गर्न यी टोली परिचालन गरिएको हो।
त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा जडान गरिएका २७७ वटा सीसीटीभी क्यामेरामार्फत निगरानी भइरहेको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार ९२० भन्दा बढी सुरक्षाकर्मी जिल्लाका विभिन्न क्षेत्रमा खटाइएको प्रहरी उपरीक्षक भट्टले बताएका छन्।
विशेषगरी कृष्णनगरमा विगतमा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक घटना भएका कारण यस वर्ष सम्भावित तनाव रोक्न थप सतर्कता अपनाइएको छ। स्थानीय तहमा समेत आवश्यक समन्वय र सहकार्यका लागि समिति गठन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र सम्भावित अप्रिय घटना रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको बताएका छन्। धार्मिक गतिविधि शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकाय, स्थानीय प्रशासन र समुदायबीच समन्वय कायम गरिएको जनाइएको छ।
कात्तिक ३ देखि ९ गतेसम्म मूर्ति विसर्जन
प्राप्त विवरणअनुसार जिल्लाका विभिन्न स्थानमा प्रदर्शनका लागि निकालिएका दुर्गा भगवतीका मूर्तिहरूको विसर्जन कात्तिक ३ देखि ९ गतेसम्म गरिनेछ। मूर्ति विसर्जनका क्रममा ठूलो सङ्ख्यामा भक्तजन सहभागी हुने भएकाले प्रशासनले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको छ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक सहभागितासँग जोडिएको दुर्गा मूर्ति प्रदर्शन कपिलवस्तुको दसैँको महत्त्वपूर्ण पक्ष हो। बढ्दो धार्मिक उत्साहसँगै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्दै चाडपर्व सम्पन्न गर्नु यस वर्ष जिल्लाको प्रमुख प्राथमिकता बनेको छ।