काठमाडौँ । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा आज देशभरका देवी मन्दिर, शक्तिपीठ तथा घरघरमा स्थापना गरिएका दसैँघरमा आद्यशक्ति दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदैछ। आश्विन शुक्ल नवमीका दिन देवी सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा रहे पनि यस दिन नवदुर्गाको आराधना, कन्यापूजा तथा बलिपूजालाई विशेष महत्त्व दिइन्छ।
महानवमीलाई शक्ति उपासनाको विशेष दिनका रूपमा लिइन्छ। यस अवसरमा भक्तजनले विधिपूर्वक पूजापाठ गरी परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्छन्। धार्मिक मान्यताअनुसार नवदुर्गाको आराधनाले शक्ति, सिद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ।
महानवमीका दिन घरघरमा नौ कन्यालाई नवदुर्गाका विभिन्न स्वरूप मानेर पूजा गर्ने परम्परा छ। कन्यालाई कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रूपमा पूजा गरी भोजन तथा दक्षिणा दिने चलन छ। यस दिन देशभरका देवी मन्दिर र शक्तिपीठमा बलिपूजा तथा सात्त्विक पूजा पनि गरिन्छ। कतिपय स्थानमा राँगा, बोका, भेडा, कुखुरा तथा हाँसको बलि दिने परम्परा छ भने सात्त्विक विधि अपनाउनेले कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूल चढाएर पूजा गर्छन्।
महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको पूजाआराधनालाई विशेष महत्त्वका साथ लिइन्छ। राज्यशक्तिकी अधिष्ठात्री देवीका रूपमा पूजिने तलेजु भवानीको मन्दिर वर्षमा एकपटक महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिने परम्परा छ। यस दिन देवीको दर्शन तथा पूजाआजाका लागि भक्तजनको विशेष आकर्षण रहने गर्छ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभा भगवती, दक्षिणकाली, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी तथा बगलामुखीलगायतका देवी मन्दिरमा पनि दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ।
त्यसैगरी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, सप्तरीको कंकालिनी तथा सखडा भगवती, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङ कालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेउराली, उजिरेश्वरी, आलमदेवी, गह्रौँकालिका, दुर्लुङकोट, बागलुङ कालिका, जलजलामाई, त्रिपुरासुन्दरी, वागीश्वरी, शैलेश्वरी तथा उग्रतारालगायतका शक्तिपीठमा पनि भक्तजनले श्रद्धापूर्वक पूजा गरिरहेका छन्।
दसैँलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ। नवरात्रका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिने परम्पराअनुसार महानवमीमा विशेष आराधना गरी दसैँको धार्मिक अनुष्ठानलाई पूर्णतातर्फ अघि बढाइन्छ। देवीको उपासनासँगै नेपाली समाजमा पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको निरन्तरतासमेत यस पर्वका महत्त्वपूर्ण पक्ष हुन्।