काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परासँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समाप्त हुन्छ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पर्व आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाएसँगै औपचारिक रूपमा समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका भक्तजनको घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने गरिएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले बताएका छन्।
आजै शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न गरिन्छ। यससँगै विजयादशमीदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम समाप्त हुन्छ। दसैँमा दुर्गाको प्रसादस्वरूप लगाइएको जमरा नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गर्ने चलन छ।
माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा गरी दुर्गा पक्षलाई बिदाइ गरिने भएकाले यस पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ। नवरात्र विजयादशमीका दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासम्म चल्ने परम्परा छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
कोजाग्रत पूर्णिमाका दिन राति जुवा खेल्ने परम्परा पनि रहेको समितिका अध्यक्ष भट्टराईले बताएका छन्। यस अवसरमा महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने धार्मिक विधान छ।
यसैगरी, कार्तिक स्नान, तुलसीको विशेष पूजा आराधना र आकाशदीपदानको परम्परा कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। यससँगै नेपाली धार्मिक परम्परामा दसैँपछिको अर्को महत्त्वपूर्ण अध्याय कार्तिक स्नानको सुरुवात हुनेछ।