काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नौ दिनपछि बजार खुल्दा सुनको मूल्यमा ठूलो गिरावट देखिएको हो। यसअघि गत असोज ३० गते छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला १९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
दसैँ बिदापछि सुन र चाँदी दुवैको मूल्य घटेसँगै स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार नयाँ मूल्यमा सुरु भएको छ।