काठमाडौं । भारतसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिबारे नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका नेताहरूले फरक–फरक धारणा व्यक्त गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनीहरूले राष्ट्रिय हित, कूटनीतिक सन्तुलन र सरकारको कार्यशैलीबारे आ–आफ्ना विचार राखेका हुन्।
नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्यले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्दै असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्नुपर्ने बताए। उनले भोटेकोशी र बूढीगण्डकीको बाढीबाट पाठ सिकेर विपद् जोखिम न्यूनीकरणमा गम्भीर हुन पनि सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे।
रास्वपाका नेता तथा सांसद वदन भण्डारीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा आएको अभिव्यक्तिको बचाउ गर्दै भारतको विरोध गरेर मात्रै राष्ट्रवादी बन्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताए। उनले सरकारको प्रमुख चुनौती महँगी नियन्त्रण र जनअपेक्षा पूरा गर्नु रहेको उल्लेख गरे।
यता, एमाले नेता शेरबहादुर तामाङले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालको असंलग्न र सन्तुलित परराष्ट्र नीति कायम रहनुपर्नेमा जोड दिए। उनले भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउन पनि सरकारलाई सुझाव दिए।
तीनै नेताका अभिव्यक्तिले छिमेकी सम्बन्ध, राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि र जनअपेक्षा पूरा गर्ने विषय नेपालको समसामयिक राजनीतिक बहसका प्रमुख मुद्दा बनेको देखाएको छ।