रसुवा । भोटेकोशीको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा सवारी आवागमन सहज बनाउन बेलिब्रिज निर्माण तीव्र पारिएको छ। तिहारअघि नै पुल जडान सम्पन्न गर्ने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा निर्माण कार्यलाई तीव्रता दिइएको हो। शनिबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त क्षेत्रमा आवतजावत प्रभावित भएको थियो। बाढीले क्षति पुर्याएको स्थानमा नयाँ बेलिब्रिज जडान गर्न आवश्यक जग निर्माणको काम सुरु भइसकेको छ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि स्याफ्रुबेँसी क्षेत्रमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ। निर्माण कार्य निर्धारित समयमै पूरा गर्न सम्बन्धित निकायले समन्वय र अनुगमनलाई प्राथमिकता दिएका छन्।
यसैबीच, बाढीका कारण आवतजावतमा समस्या भएको स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणको काम पनि अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयले पुल निर्माणका लागि आवश्यक फलामको लट्ठा (स्टिल केबल) उपलब्ध गराएपछि निर्माण कार्यले गति लिएको हो।
बेलिब्रिज र फड्के पुल निर्माणसँगै प्रभावित क्षेत्रका बासिन्दाको दैनिक आवतजावत तथा यातायात सेवा सहज बनाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।