नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
आज बिहान भएको दुर्घटनामा कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए।
दुर्घटनामा कोहलपुरबाट काठमाडौं जाँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको हो।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य घाइते भएका छन्। कार चालक नरेन्द्रबहादुर शाहीको नेपालगञ्जमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका सबैको उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ।