काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका अर्का एक जनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएका थिए। प्रारम्भिक जानकारीअनुसार पंखा ठोक्किएपछि दुर्घटना भएको हो।
घटनापछि सम्बन्धित निकायले थप विवरण संकलन तथा दुर्घटनाबारे जानकारी लिने काम गरिरहेको प्राधिकरणले जनाएको छ।