काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ । मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा जनकपुरले १० रन मात्रै जोड्न सक्यो ।
जनकपुरलाई जितबाट रोक्न विराटनगरका आन्द्रे रसेल निर्णायक बने । अन्तिम ओभर बलिङ गरेका उनले दोस्रो बलमा जनकपुरका कप्तान हरमित सिंहलाई खाता खोल्न नदिई पभेलियन फर्काए । अन्तिम बलमा जितका लागि ३ रन आवश्यक हुँदा सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरे पनि बासिर अहमदले उत्कृष्ट क्याच लिएपछि जनकपुरको जितको सम्भावना समाप्त भयो ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विराटनगरका रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए ।
खेलमा दुवै टोलीका ब्याटरले आक्रामक प्रदर्शन गरेका थिए । चार अर्धशतक बनेको प्रतिस्पर्धामा जनकपुर लक्ष्यनजिक पुगेर पनि जित हात पार्न असफल भयो ।
यस जितसँगै कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।