Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटक आकर्षणको केन्द्र सौराहा


२४, वैशाख २०८२
  • 153
    SHARES
  • पर्यटक आकर्षणको केन्द्र सौराहा

    काठमाडौँ । कलासंस्कृति तथा पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै प्रमुख आकर्षणको केन्द्रका रूपमा स्थापित छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ८ हजारभन्दा अग्ला आठ र ६ हजारमाथिका एक हजार ३१० हिमालको आरोह गर्न बर्सेनि झन्डै डेढ लाख पर्यटक नेपाल आउने गर्छन् । विविध कलासंस्कृति र दैनिकजसो मनाइने विभिन्न जात्राको अवलोकन पर्यटकका लागि नेपाल बसाइ यसै अविस्मरणीय बन्ने गरेको छ ।

    यससँगै पर्यटन प्रवर्धनमा नेपाल ‘वाइल्ड लाइफ टुरिजम’ कोसमेत हब बन्दै गएको छ । जसको उदाहरणका रूपमा सौराहालगायत देशका १२ वटा राष्ट्रिय वन्यजन्तु निकुञ्जमा पर्यटकको आकर्षण हेरे पुग्छ ।

    सन् २०११ मा नेपालसहितका बाघ पाइने राष्ट्रका प्रमुखको रसियाको पिटर्सवर्गमा सम्मेलन भयो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुखले घोषणापत्रमै बाघको सङ्ख्या एक दशकमा तीन गुणा बनाउने प्रतिबद्धता गरे ।

    अधिकांश मुलुक लक्ष्यमा अझै पुग्न नसकिरहेको अवस्थामा नेपालले भने तीन गुणाभन्दा बढीले बाघको वृद्धि गरी नयाँ रेकर्डसँगै विश्वको ध्यान आकर्षित गर्न सफल भएको छ ।

    सन् २०११ मा नेपालमा १२१ को सङ्ख्यामा रहेको पाटेबाघ हाल बढेर ३५५ पुगेको छ । त्यस्तै सन् २००५ मा चार सयको सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा हाल बढेर ७५२ वटा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती ४५, चौँरीगाई ३८८, घडियाल गोही ६९४ छन् ।

    स्तनधारी ७० प्रजातिका, चरा ५४६, सरीसृप र माछा १२० प्रजातिका छन् । अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र तीन लाख ६० हजार पर्यटक पुगेकामा चालु आवको नौ महिनामा एक लाख ८२ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । यस आवमा हालसम्म २३ अर्ब ६४ करोड ९९ लाख ९५ हजार नौ सय राजस्व सङ्कलन भएको छ ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी विविध संस्कृति तथा पर्वतीय पर्यटनसँगै नेपाल पर्यावरण तथा वाइल्ड लाइफ टुरिजमकोसमेत हब बन्दै गएको बताउछन ।

    जोशी भन्छन, “पर्यावरणीय विविधता, विभिन्न कलासंस्कृतिको प्रवर्धनसँगै इको टुरिजममा पनि हामीले विशेष ध्यान दिएका छौँ । विशेष गरी चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षणमा स्थानीयसहितको प्रयास र यसका परिणाम विश्वका लागि उदाहरणीय बनेका छन् ।”

    कार्यकारी प्रमुख जोशीले वन्यजन्तु संरक्षणमा नेपालले प्राप्त गरेको सफलताका कारण सौराहालगायतका क्षेत्रमा पर्यटनको सङ्ख्या उल्लेख्य वृद्धि भएको र नेपाल पर्यटन बोर्ड यसको थप प्रचारप्रसारमा जुटेको बताउछन ।

    निकुञ्जमा रहेका दुर्लभ पाटेबाघ, एकसिङ्गे गैँडालगायतका जनावरको संरक्षणका लागि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सौराहाका पर्यटन व्यवसायी र स्थानीय निकायबिच प्रभावकारी समन्वय भइरहेको छ ।

    सेना, निकुञ्ज, मध्यवर्ती व्यवस्थापनले संयुक्त सुरक्षा संयन्त्र तयार पारी निर्धारित गस्ती, सवारी गस्तीको संयुक्त अनुगमन, सिसी क्यामरा तथा चोरीसिकारीको रेकर्ड राख्ने स्प्रे क्यामराबाट पनि अनुगमन गरिँदै आएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटकका सवारीको निगरानी गर्न भिटिआरएस जडान गरिएको छ ।

    सौराहाका पर्यटन व्यवसायी बासुदेव ढुङ्गाना चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थापन, समन्वय विश्वका लागि नै उदाहरणीय रहेको बताउछन । कोभिड–१९ सङ्क्रमणपछि पर्यटन व्यवसाय पुरानै लयमा फर्किने प्रयासमा रहेको छ । सौराहा क्षेत्रमा पर्यटनको उच्च सम्भावना भएका कारण अन्तर्राष्ट्रिय प्रख्यात होटेलले सौराहामा शाखा खोल्न इच्छा देखाइरहेका छन् ।

    ढुङ्गाना भन्छन, “चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा अपनाइएको संयुक्त अभ्यास विश्वका लागि नै उदाहरणीय छ । शून्य चोरीसिकारीको अवस्थामा पुगेका कारण दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेख्य वृद्धि हुँदा पर्यटन प्रवर्धनमा ठुलो टेवा पुगेको छ ।”

    बढ्दो बसाइँसराइका कारण तराई क्षेत्रका वनजङ्गलको अतिक्रमण रोकिएको छैन । निकुञ्ज सुरक्षार्थ आवश्यक प्रविधिसहितको जनशक्तिको साङ्गठानिक क्षमता अभिवृद्धि, पूर्वाधारको विकास, प्रभावकारी सूचनाको पहुँच विस्तारमा राज्यले समयमै ध्यान दिन नसके संरक्षित चोरी तस्करी फेरि बढ्ने पो हो कि भन्ने चिन्ता आमसरोकारवाला निकायमा छ ।

    प्रकृति संरक्षणमा नेपालले ५० वर्ष पूरा गरेको छ । जसको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । यसबिचमा दुर्लभ वन्यजन्तुको संरक्षणमा ठुलो सफलता प्राप्त भएको छ । बाघको सुरक्षा, वासस्थान व्यवस्थापन र आहार प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जका रूपमा पुरस्कृत भयो ।

    निकुञ्जमा सेनाको तैनाथीपछि बाघ, गैँडा, हात्ती, घडियाल गोही जस्ता दुर्लभ वन्यजन्तु चोरीसिकारी नियन्त्रण र वासस्थान विनाश रोकिँदा यी जनावर नेपालबाट लोप हुनबाट जोगिका छन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त बाघ, गैँडा, हात्ती, घडियाल गोही सोँस (डिल्फिन) लगायत वन्यजन्तु, पन्छी तथा जलचरको सङ्ख्या उल्लेख्य वृद्धि भएका कारण पर्यटनको आकर्षणको केन्द्र बनेको बताउछन ।

    पन्त भन्छन, “दुर्लभ मानिएका पाटेबाघ, एकसिङ्गे गैँडा, हात्तीलगायत जङ्गली जनावरको उल्लेख्य सङ्ख्या वृद्धिसँगै पर्यावरण संरक्षणमा ठुलो सफलता प्राप्त भएको छ । जसका कारण पर्यटन प्रवर्धनमा टेवा पुगेको छ ।” चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको नयाँ गोरख गण तैनाथ गरिएको छ । राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा वनपैदावारको संरक्षण गर्न सेनाले २०६७ सालदेखि सञ्चालन गरेको ‘अपरेसन संरक्षण’ पछि पछिल्लो डेढ वर्षमा चोरीसिकारी पूर्ण नियन्त्रणमा आएको छ ।

    चोरीसिकारी तथा तस्करी पूर्ण नियन्त्रणमा आउनुमा नेपाली सेनाको चुस्त सुरक्षा व्यवस्थापन, समस्याको पहिचान तथा प्रभावकारी समन्वय रहेको सरोकारवाला निकायको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना नेपाली सेनाको कुशल सुरक्षा व्यवस्थापनका कारण वन्यजन्तुको चोरीसिकारी पूर्ण नियन्त्रण अर्थात् जिरो पोचिङ्को अवस्थामा पुगेको बताउछन । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend