देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिवमा बढुवा भएका कुँवरलाई लुम्बिनी प्रदेशमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको हो।
जिम्मेवारी सम्हालेसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्ति तथा प्रदेश सरकारका प्राथमिकताबारे प्रमुख सचिव कुँवरलाई जानकारी गराइन्।
कार्यक्रममा प्रमुख सचिव कुँवरले शासकीय सुधार, प्रभावकारी नीति कार्यान्वयन र सामूहिक सहकार्यबाट प्रदेश सरकारका कामलाई परिणाममुखी बनाउन सकिने बताएका छन्।
“शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,” कुँवरले भने, “प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ।” उनले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन कर्मचारीबीच सहकार्य र सामूहिकतामा काम गर्ने संस्कार आवश्यक रहेको बताए। आफू सहकार्यमा विश्वास गर्ने उल्लेख गर्दै उनले सबै पक्ष मिलेर अघि बढ्दा मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने धारणा राखे।
कर्मचारीको मनोबल उच्च राख्दै सकारात्मक कार्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै कुँवरले कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। जिम्मेवारी सम्हालेपछि प्रमुख सचिव कुँवरले मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसँग भेटघाट तथा छलफलसमेत गरेका छन्।
नवनियुक्त प्रमुख सचिवको आगमनसँगै लुम्बिनी प्रदेशको प्रशासनिक संयन्त्रमा शासकीय सुधार, समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।