काठमाडौं l नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले “विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा” विषयमा एक विशेष छलफल कार्यक्रम असार ३० गते दिउँसो २ बजे आयोजना गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादीमा सम्पन्न हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन थापाको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रमको आयोजना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तको संयोजनमा हुने उक्त छलफल कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी समसामयिक चुनौती, सरकारी नीतिगत प्रयास, कानुनी ढाँचा, पूर्वतयारी, तथा सरकारी–गैरसरकारी संयोजनको विषयमा गहन छलफल हुनेछ ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, योजनाकार, अभियन्ता, सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, युवा तथा बुद्धिजीवीहरू सहभागी रहने छन् । सहभागीहरूले जलवायु परिवर्तन, बाढी, पहिरो, भूकम्प, महामारी लगायतका प्राकृतिक तथा मानवजन्य विपद्हरूको पूर्वअनुमान, तत्परता, प्रतिक्रिया र पुनःस्थापनाको विषयमा विस्तृत विचार प्रस्तुत गरिने छ ।
वक्ताहरूले दिगो विपद् व्यवस्थापनका लागि बहुस्तरीय समन्वय, वैज्ञानिक पूर्वतयारी, जनसहभागिता र स्पष्ट राजनीतिक प्रतिबद्धता जस्ता विषयहरुलाई गम्भीर रूपमा उठाउने छन् । कार्यक्रममार्फत नेपाली कांग्रेसले विपद् व्यवस्थापन जस्तो संवेदनशील विषयमा विज्ञ र सरोकारवाला पक्षहरूसँग सम्वाद गर्दै नीतिगत बहसलाई सशक्त बनाउने प्रतिबद्धता साथ आयोजना गरेको देखिन्छ ।