काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आसन्न ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन नजिकिँदै जाँदा एशोसिएट्स (महिला) तर्फ कार्यकारिणी समिति सदस्य पदकी उम्मेदवार जमुना पौडेलप्रति समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
महिला उद्यमशीलताको सशक्त प्रतिनिधिका रूपमा उदाउँदै गरेकी पौडेललाई विजयी गराउन देशभरका उद्योगी-व्यवसायी तथा महिला उद्यमीहरूले सामूहिक अपिल गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघकी वर्तमान कार्यसमिति सदस्य पौडेल विगतमा महासंघको लुम्बिनी प्रदेश महिला समिति सदस्यका रूपमा सक्रिय रहिसकेकी छन् । साथै, महासंघको बुटबल समिति सदस्यका रूपमा समेत उनको निरन्तर संलग्नता छ ।
व्यवसायिक अनुभव, सामाजिक सक्रियता र नेतृत्व क्षमताको समन्वयले उनलाई एक सक्षम र विश्वासिलो उम्मेदवारका रूपमा स्थापित गरेको छ । पौडेलले साना तथा घरेलु उद्योगमा महिलाको बढ्दो लगानीलाई राष्ट्रिय प्राथमिकतामा राख्दै स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् ।
“महिलाहरूको आर्थिक सशक्तीकरण बिना दिगो समृद्धि सम्भव छैन,” भन्ने उनको धारणा मतदातामाझ प्रभावशाली रूपमा प्रस्तुत भइरहेको छ । उनको उम्मेदवारीले विशेषगरी महिला उद्यमीहरूमा नयाँ ऊर्जा र आशा जगाएको छ । निर्यात प्रवर्द्धन, घरेलु उत्पादनको बजारीकरण तथा नीतिगत लबिङमा उनको अनुभवलाई धेरैले सकारात्मक रूपमा लिएका छन्, जसले महासंघभित्र महिला नेतृत्वको सुदृढ उपस्थितिको अपेक्षा बढाएको छ ।
यसै सन्दर्भमा विभिन्न उद्यमी समूहहरूले संयुक्त अपिल जारी गर्दै जमुना पौडेललाई विजयी गराउन आह्वान समेत गरेका छन् । अपिलमा भनिएको छ, “सक्षम, अनुभवी र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता हो । महिला उद्यमीहरूको आवाजलाई केन्द्रसम्म पुर्याउन जमुना पौडेललाई निर्वाचनमा जिताउन सबैले सहयोग गरौँ।”
आगामी चैत २९-३० गते हुने निर्वाचनलाई महिला सशक्तीकरणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । पौडेल विजयी भए महासंघमा समावेशी नेतृत्व, उद्यमशीलताको प्रवर्द्धन र नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ ।