काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा बिरामीहरुलाई फलफुल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ । मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको छ ।
को हुनुहुन्छ गणेशमान ?
काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होम्नुभएको थियो । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला बीपी कोइरालासँग मिलेर उहाँले २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो ।
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्नुभएको थियो । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिनुहुन्थ्योे ।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोग्नुभयोे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उहाँलाई ‘लौह पुरुष’ –फलाम जस्तो कठोर मानिस)को उपनाम दिइएको हो । २०३३ सालमा बीपीसँगै उहाँ राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । तर तत्कालीन पञ्चहरूबाट बीपीसँगै उहाँलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गर्नुभएको थियो । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।