Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’


१३, पुस २०८०
  • 180
    SHARES
  • खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

    कास्की । रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । 

    विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुनुहुन्थ्यो । नेतृत्व सम्हालेपछि उहाँले केही नयाँ काम गर्ने सोच बनाइरहनुभएको थियो । स्थापनाकालको उपाध्यक्ष हुनुहुन्थ्यो, गणेशबहादुर भट्टराई । 

    पचासको दशकतिर उहाँहरुले भारतको गोवा भ्रमणका समयमा सडकमै ‘फेस्ट’ मनाएको देख्नुभएको थियो । त्यही देखासिकी गर्दै रेवान पोखराले सन् १९९८ को अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरी लेकसाइड क्षेत्रमा पोखरा सडक महोत्सव आयोजना गर्‍यो । सो समयमा महोत्सवको संयोजक बन्नुभयो, तत्कालीन उपाध्यक्ष भट्टराई । 

    त्यो बेला पोखरा लेकसाइड क्षेत्रमा विदेशी पर्यटकहरुको लर्को देखिन लागिसकेको थियो । सोही कारण पनि विदेशी पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको तत्कालीन संयोजक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेला हामीले पोखरा आउने पर्यटकहरुलाई लक्षित गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउँदै खाना, संस्कृति र उत्पादन जोगाउनका लागि महोत्सव गरिएको थियो ।” 

    नेपालमा भएका विभिन्न जातजातिबीच सामाजिक सद्भाव कायम गर्दै संस्कृति साटासाट गर्न पनि मेलाले सहयोग गरेको उहाँले बताउनुभयो । “नेपालीमा भएको जातजातिबीच सामाजिक सद्भाव र संस्कृति साटासाट गर्न साथै उनीहरुले उत्पादन गरेका वस्तुहरु बजारीकरण गर्न महोत्सव गरिएको हो”, संस्थापक अध्यक्ष गुरुङले भन्नुभयो, “उहाँहरुको खाना पनि सडकमा देखाउने अकोे उद्देश्य हो । खाना, संस्कृति र उत्पादनको त्रिकोणात्मक सम्बन्ध पनि महोत्सवमा देखिन्छ ।”

    संस्थापक अध्यक्ष  गुरुङले २५ वर्षअघि आफूहरुले सुरु गरेको सडक महोत्सव अहिलेसम्म निरन्तर चलिरहेकाले खुशी व्यक्त गर्नुभयो । आगामी दिन अझै परिस्कृत रुपमा अघि बढाउन उहाँको सुझाव थियो । 

    रजत जयन्तीसहितको २५औँ पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो । महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ । 

    कार्यक्रममा प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषण गर्ने क्रममा रहेको बताउनुभयो । यसका लागि अध्ययन गर्न उच्चस्तरीय समिति बनाएर अघि बढेकाले एक महिनाभित्र पोखरालाई पर्यटनको राजधानी घोषण गर्ने उहाँको दाबी छ । 

    पोखरा सडक महोत्सवले पोखरालाई थप पहिचान दिएको बताउनुभयो । विदेशी पर्यटकहरुलाई नेपाली खाना चिनाउनका लागि महोत्सव सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, वेशभूषा झल्किने झाँकीसहित लेकसाइड हल्लनचोकदेखि कोमागाने पार्कसम्म र्‍याली निकालिएको थियो । र्‍याली तीन किलोमिटर दूरी पार गर्दै उद्घाटन समारोहमा परिणत भएको थियो । 

    पच्चिसौँ सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्त, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’, विम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

    महोत्सवमा मुख्य आकर्षकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शनी रहेको रेवानका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो । दोहोरी गीत प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता पनि मेलाको आकर्षण रहेका छन् ।  

    पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक शो कार्यक्रम, स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको संयोजक विश्वराज पौडेलले बताउनुभयो । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहेका छन् । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend