काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकको संख्या बढाउन सके छिटै मुलुकमा आर्थिक समृद्धि हुने बताउनुभएको छ ।
होटल संघ नेपालले स्थापना दिवसका अवसरमा सुरु गरेको नेपाल सत्कार दिवस शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले मुलुकका नवनिर्मित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याई मुलुकमा बढि भन्दा बढि पर्यटक भित्राउन सके समृद्धि छिटै हासिल गर्न कठिनाई नहुने बताउनुभएको हो ।
यस कार्यका लागि पाँच दशक भन्दा बढि समयदेखि होटल व्यवसायीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालको विशिष्ठता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरि पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापीत गर्नुपर्ने धारणा राख्नुभयो ।
पर्यटन क्षेत्रका हुने गरेको आय बढिरहेको अवस्थामा पर्यटकीय गन्तव्य खानेपानी शौचालय जस्ता पूर्वाधार बढाउदा त्यसको प्रभाव व्यापक हुने उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले अर्गानिक कृषि उत्पादनहरुलाई सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गर्नुभयो ।
त्यस्तै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटलहरुलाई राष्ट्रिय प्राथमिकता उद्योगको दर्जा प्रदान गर्न माग गर्नुभयो । उहाँले भैरहवा र पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट निरन्तर उडान हुन सके पर्यटनहरुको आवागमनमा थप सहयोग पुग्ने र पर्यटक आवागमनको संख्या दोव्वर बनाउन सकिने बताउनुभयो ।
दिवसका अवसरमा होटल संघ नेपालले नेपाल एयरबुक २०२४ र ई–लर्निङ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गरेको छ ।