मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।
यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ ।
चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।” सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उहाँ बताउनुहुन्छ ।
त्यस्तै कास्की पोखराका ६६ वर्षीया पुञ्जमाया पुन मगर भन्नुहुन्छ, “म वर्षेनी यहाँको तातोपानीमा डुब्न आउँछु ।यहाँ डुबेपछि शरीरमा हुने छाला चिलाउन छोड्छ । यहाँ नआएको समयमा त म बस्नै नसक्ने बन्छु ।” छोरीले यहाँसम्म ल्याइदिने र कति बस्ने हो बसिसकेपछि लिन आउँछ अनि घर जाने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “वर्षको एक पटक यहाँ आएर तातोपानीमा डुबेपछि आनन्द हुन्छ । नत्र छालामा केही देखिदैन तर चिलाउने हुन्छ । यहाँ डुबेर निको हुन्छ । त्यसैले म त वर्षको एक पटक समय मिलाएर आउने गर्छु ।” तातोपानीमा डुबेर फर्किएपछि भने निको हुने उहाँको भोगाइ छ ।
यहाँको पानीमा निको पार्ने शक्ति भएको उहाँ बताउनुहुन्छ । पुन मगर भन्नुहुन्छ, “अस्पताल गएर पनि निको नभएको छालाको समस्या यहाँको तातोपानीले निको हुन्छ ।” उहाँ जस्तै बाग्लुङ तमानखोला गाउँपालिका–६ भिमबहादुर रसाइली र झकबहादुर रसाइली पनि तातोपानीमा डुब्दा र नुहाउँदा निको हुन्छ भनेर नै यहाँको कुण्डमा डुब्न वार्षिक रुपमा आउने गरेका बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यहाँबाट टाढा भए पनि वर्षमा एक पटक तातोपानी आउँछौँ । मर्केको, सड्केको दुखाई निको हुन्छ । हामी त बुढा भैसक्यौँ । यहाँ नुहाउँदा राम्रो भएको छ ।” उहाँहरु जस्तै देशका विभिन्न स्थान र भारतबाट पनि यहाँको तातोपानी कुण्डमा डुब्न आउने गरेका छन् । यहाँको तातोपानीमा डुब्दा विभिन्न रोग पनि निको हुने गरेका सेवाग्राही बताउँछन् ।