बुटवल । बुटवल स्थित तिनाउ नदिमा नदिजन्य पदार्थको अवैध बोरे दोहन साम्राज्यले प्रहरी र उपमहानगरलाई ठाडो चुनौति दिदै आएको छ । प्रहरी र स्थानीय तहको पहुँच नजिकै दिउँसै दोहन हुँदा प्रहरी मौन, जिल्ला समन्वय समिति नियामक निकाय अधिकार नभएको भन्दै अधिकार विहिन र उपमहानगर बेखवर जस्तै बनेपछि स्थानीयहरुको बेरोजगारीको फाइदा उठाउँदै नदिमा प्रयोग गरी बुद्धनगर र देविनगरका अघोषित पेशेवर तस्करहरुको रजगज बढ्दै गएको छ ।
तिनाउ किनारमा बसेकाहरुलाई प्रयोग गर्दै जीविकोपार्जनका नाममा बोरामा नदिजन्य पदार्थ उठाउन लगाउने तस्करका गिरोहहरुले रातीको समयमा निकासी गर्दै आएको पाइएको हो ।
बोरामा नदिजन्य पदार्थ उठाएर चोरी निकासी गर्नेहरुको धन्दा मौलाउँदै जाँदा प्रहरी प्रशासन मौन देखिन्छ, भने बुटवल उपमहानगर बेखवर जस्तै । बुटवल उपमहानगरपालिका वडा न ११ र १७ रानीगञ्जमा नदिजन्य पदार्थको चोरी कानुनको सीमा नाघेर हुँदा पनि प्रहरी मौन बस्नु लज्जास्पदको बिषय बनेको छ ।
जसका कारण वातावरणीय प्रभाव मूल्यांकनमा प्रत्यक्ष असर पुग्नुको साथै नदिमा गहिरा खाल्डाखुल्डी बनेका छन् । जथाभावी नदिजन्य पदार्थ तस्करी गर्नेहरुले योगिकुटी रानीगञ्ज जोड्ने तिनाउमा बनाइएको नयाँ पुल नजिक र पुल मूनीबाट तीव्र उत्खनन् गर्दै आएकाले उक्त पुल जोखिममा पर्ने देखिएको छ।
बुद्धनगर देविनगर जोड्ने पुल पनि उच्च जोखिममा रहेको र बुटवलको बुद्धनगर, पवित्रानगर, प्रगतिनगर, मजुवा क्षेत्रमा बढेको नदिजन्य पदार्थको उत्खननले लाखौंका तटबन्ध समेत खतरामा पर्ने बताईएको छ । ठूलो सेटिङ छ । नदिमा मानिसहरुको बाक्लो संख्यामा उत्खनन् भइरहेको देखिपछि मैले नगरप्रहरीलाई पठाइदिनु पर्यो भनेर विहान ११ बजे फोन गरेको नगरप्रहरीले दिउँसो ३ बजे फोन फर्काएको बुटवल उपमहानगर वडा न ११ वडासदस्य नकुल शाहीले बताए ।
उनि भन्छन्, माघ २० गते तिनाउ नदि प्रभावित क्षेत्रका टोल अध्यक्षहरु सहितको अनुगमन तथा चोरी निकासी रोकथाम समितिको अनुगमन पश्चात् समिक्षा बैठक बस्यौं, चोरी निकासी रोक्न कडाइको साथ लाग्ने निर्णय गर्नुको साथै अवैध तस्करीमा केही टोल अध्यक्षको प्रत्यक्ष संलग्नता भएको निष्कर्ष निस्किएको थियो । त्यसलाई गम्भीररुपमा ध्यान दिएका छौं । तिनाउको जोखिममा रहेको प्रगतिनगर स्थित करिडोरले विस्थापित हुनेहरुले सबैभन्दा धेरै अवैध उत्खनन् गर्दे आएको एक स्थानीय समाजसेवीले बताएका छन् ।
नदिजन्य पदार्थ दोहन गर्दै आएका तस्करहरुले अव्यवस्थित रुपमा अवैध कार्य गर्दै आउँदा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले भने आफुहरुले वातावरणीय प्रभाव मुल्यांकन भएनभएको हेर्ने बाहेक कारवाही गर्ने अधिकार प्रत्याभूत गरेको छैन्, यसको ठेक्का लगाउने र नियमन गर्ने जिम्मेवारी स्थानीय निकायलाई दिएकाले तस्करी भएको देख्दा पनि केही गर्न नसकिएको जनाएको छ ।
माघ १५ गते जनप्रतिनिधि, टोल अध्यक्ष र स्थानीयहरुको एक टोली अनुगमनमा खटिएको बेला खोलामै संकलन गरी राखिएको ठूलो मात्रामा १ हजार २ सय बोरा भेटिएपछि स्काभेटरको प्रयोग गरी उक्त नदिजन्य पदार्थलाई खोलामै फालियो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नदिबाट अवैध रुपमा मगरघाट नजिकै तिनाउ खोला दोहन गर्ने हरुलाई कारवाही गरिो छ । यसका विरुद्ध अप्रेशन चलाएर गैरकानुनी रुपमा तस्करी गर्ने जो कोहीलाई नछाड्ने बताए ।
उनले भने, ई रिक्सा, ट्याक्टर र ट्रकहरु उक्त गलत कार्यमा भेटिए कडा कारवाही गरिने र नामावली समेत प्रकाशित गरिने बताउँदै उक्त कार्यमा सबैले दिनुपर्ने भन्दै नदिजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रणमा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।