Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक


६, असार २०८१
  • 176
    SHARES
  • बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

    बुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।

    बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्न योग्य सहर बनाउने मूलध्येय रहेको बताए ।

    उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको बताए ।

    नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ ।

    यस्तै, उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने बुटवलमा मूल रणनीति हुन् ।

    बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पुर्‍याउन अन्तर विद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबिच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

    यस्तै, ‘छोरी पढाऔं समाज बनाऔं’कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ ।

    प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकल इस्टिच्युट आर्थिक संकटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दामा पारामेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीति अगाडि सारेको प्रमुख पाण्डेयले बताए ।

    विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरुले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्त्यमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ ।

    विद्यार्थीहरुलाई पाठ्य सामग्रीमाथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयहरुप्रति आकर्षण बढाउने नीति बुटवलले लिएको छ ।

    स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरु सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

    बुटवलले यस अघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार, एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्चबापत् २ हजार रुपैयाँ दिने कार्यक्रमलाई जानकारी दिएको छ ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल ११ मा १ सय बेडको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको बताए ।

    मुख्य राजमार्ग क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालन भएका ठेला, गाडी, साइकल, पोका, डोका र झोलाजस्ता साना खुद्रा व्यवसायीलाई करको दायरामा ल्याई रात्रीकालीन बजार क्षेत्रमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधा सम्पन्न बसपार्क बनाउने नीति बुटवलले लिएको छ ।

    मुख्य राजमार्ग क्षेत्र र चोकहरुमा स–सानापार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्रहरु तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायहरूलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि स्पेशल टास्कफोर्स सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ ।

    लामो समयदेखि फस्र्यौट नभएको बेरुजु, असुली र अनियमित खर्चलाई कानुनबमोजिम फस्र्यौट गर्दै आर्थिक पारदर्शितालाई सबल बनाउन आन्तरिक लेखा परीक्षण माविशेष जनशक्ति परिचालन गर्ने नीति अबलम्बन गर्ने प्रमुख पाण्डेयले बताए ।

    आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेष्टुरेण्ट र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशाला भन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    पशु बधशालाको सेवा विस्तार तथा सेवा प्रवद्र्धनका लागि  विपन वर्गका व्यवसायीलाई स्वच्छ मासु बिक्री केन्द्र स्थापनाका लागि अनुदान उपलब्ध गराउने भनिएको छ ।

    यस्तै, विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रमलाई नगरकै प्रमुख खेलका रुपमा सञ्चालन गर्ने र प्रशिक्षक, रेफ्री, अम्पायर उत्पादनका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए । 

    गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउन नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तरगत उत्पादित वस्तुको बिक्री गर्न कोशेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

    छाडा चौपाया व्यवस्थापनका लागि शिवनगरमा रहेको गौशालालाई थप व्यवस्थित गर्ने र नगरभित्र अर्को गौशाला स्थापना गर्ने तथा प्रदेशभरका छाडा चौपाया व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनामा पहल गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । 

    ‘बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न कालिकापथ, ट्राफिकचोक, अमरपथ र अन्य आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिनेछ’–नीति तथा कार्यक्रममा उल्लेख छ–‘रात्रीकालीन बजार सञ्चालन गर्दा स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकता दिदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न प्रोत्साहित गरिनेछ ।’

    बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौं बुटवल’अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने नीति अगाडि सारिएको छ ।

    बुटवलले सहकारी संस्थाहरुको एकीकृत लगानीमा सस्तो पसल, कृषि उत्पादन बिक्री केन्द्र, कोशेली घर, स्थानीय तथा रैथाने सामग्री बिक्री केन्द्र, स्वच्छ मासु बिक्री केन्द्र र शीतभण्डार गृहहरु सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ ।

    सहकारी ठगी गर्नेहरुलाई नियमन र नियन्त्रण गर्न बुटवलले संघ र प्रदेशमा दर्ता भई बुटवलभित्र कार्यालय स्थापना गर्ने सहकारीहरुलाई व्यवस्थित गर्नका लागि अनिवार्य सूचीकृत हुने व्यवस्था गर्दै सहकारी क्षेत्रको बेथिति र ठगी रोक्नका लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने नीति ल्याएको छ ।

    ‘बुटवल उपमहानगरपालिका र आसपासका नगरहरु तिलोत्तमा, तिनाउ, ओमसतिया, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा अन्य नगर तथा गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई महानगर र मेगासिटीको रुपमा विकास गर्न आवश्यक आधार तयार गरिनेछ’–नीति तथा कार्यक्रममा उल्लेख छ ।’

    IMG_2746.JPG

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend