अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ मा स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा किशोरीहरुका लागि बिहीबारदेखि आत्मरक्षा तालिम सुरु भएको छ ।
जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विभिन्न प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गदैँ जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य लक्ष्मण कँडेलले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्याउने बताए ।
तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागी किशोरीलाई सुझाव दिँदै उनले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम जरुरी रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्यलोचन आचार्य, पत्रकार अनिल नेपाली, प्रहरी जवान जीवनकुमार चौधरी लगायतले बोल्दै किशोरीहरुको सुरक्षाको लागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा विधालयका प्रधानाध्यापक दिन बहादुर थापा, वडा सदस्य पुष्पा नेपाली लगायतको आतिथ्यता रहेको थियो । नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि सञ्चालन गनुपर्नेमा जोड दिएको छ । ३ दिनसम्म चल्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले प्रशिक्षण दिनेछन् ।
सन्धिखर्क नगरपालिका–७ का अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षता, वडा सदस्य डुकलाल पोख्रेलको स्वागत तथा वडा सचिव तुलसा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
