काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले बदलिदो राजनीतिक र सामाजिक वातावरणलाई आत्मसात गरेर जनतामा जानुपर्ने बताएकी छिन् ।
बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको ‘लैंगिक समानता अघि बढाउन खेल्नुपर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठि’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेतृ डा.राणाले कांग्रेसले लिएको सिद्धान्त र रणनीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । उनले नयाँ पार्टी हौँ भन्ने दलहरूले कांग्रेस र नेपाल महिला संघप्रति गरेको टिका टिप्पणीको प्रतिवाद गरेकी छिन् ।
उनले भनिन्, ‘बदलिदो राजनीतिक र सामाजिक वातावरणमा नेपाल महिला संघलाई अनुकूलन गर्न तयारी अवस्थामा रहनुपर्छ । अहिलेको समयले के चाहेको छ ? त्योसँग हामी थिचिएर जानु हुँदैन । नत्र हामी बिलय भएर जान्छौँ ।’
कांग्रेस नेतृ डा.राणाले भनिन् ‘अहिले रास्वपाले के भनिरहेको छ ? ए‘नेपाली कांग्रेस थोत्रो पार्टी, यिनीहरूलाई के थाहा छ ? तर, उनीहरूले के बिर्सिएका छन् भने हाम्रो यत्रो लामो इतिहाँस नभएको भए त्यो रास्वपाको सांसदहरू एकजना पनि हलमा बसेका हुने थिएनन् ।’
कांग्रेसले गरेको संघर्ष, मंगलादेवी सिंह आमाले उठाउनु भएको आवाजले आज हामी यती जना महिलाहरू त्यहाँ संसदभित्र बसेका छौँ । ‘नेपाली कांग्रेस थोत्रो पार्टी, पुरानो पार्टी भन्छन्, उनीहरूलाई केही पनि थाहा छैन’, कांग्रेस सासंद.राणाले भनिन् ।
हामी जति राम्रो पार्टी कुन छ ? आजभन्दा ७० वर्ष अगाडि हामीले भनेका कुराहरूलाई आज पनि त्यहि कुरामा नेपाली समाजहरू, नेपाली समाज वरिपरी घुमी रहेको छ । हामीले राष्ट्रियता भनेका थियौँ । अहिले पनि राष्ट्रियता त्यति नै इम्पोर्टेन्ट छ । हामीले समाजवाद भनेका थियौँ । अहिले पनि समाजवाद त्यति नै इम्पोर्टेन्ट छ ।
त्यसपछि हामीले लैंगिक समानता भनेका थियौँ । त्यो पनि त्यतिकै इम्पोर्टेन्ट छ । हामीले समावेशीकरण गर्ने भनेका थियौं । त्यो पनि त्यतिकै इम्पोर्टेन्ट छ । कुन कुरामा हामी चुकेका रहेछौँ त ? तिमीहरूले कुन चाहिँ कुरा ल्याएका छौँ त ? भन्दा हामीले सोध्न सक्नुपर्छ’, डा.राणाले भनिन् ।
नयाँ इस्युहरू आएको छ । म जाँदा प्राइमरी स्कुल माग्थे, त्यसपछि हाइस्कुल माग्थे, कलेज, कुलो माग्थे । योपालि जाँदा बाढी आयो, पहिरो आयो, घर गयो, बाटो बगायो भन्ने जस्ता कुरा आयो । क्लाइमेट चेन्जको कुरा हामी सबै महिला साथीहरूले बुझ्नु पर्ने हो की ? क्लाइमेट चेन्ज कसरी आइरहेको छ ? त्यो थाहा पाउने हो की ? नेतृ डा.राणाले भनिन्, ‘मान्छेको मेन्टल हेल्थका कुरा डिस्कशन गराउन थाल्ने हो की ? हामी कसरी समाजमा जाने ? यो महत्वपूर्ण कुरा हो ।’
कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू शेखर कोइराला, पुष्पा भुसाल, रामकृष्ण यादव, सीता गुरुङ, उषा राउत, लक्ष्मी खतिवडा, धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।