काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौँँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताउनुभयो ।
उहाँले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताउनुभयो । नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ ।
त्यसकारण तपाईहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्’, देउवाले भन्नुभयो, ‘यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् ।
त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईहरू आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’
सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।