गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका-८,कालिकागाउँ टोलमा रहेको बालविकास आधारभूत विद्यालयमा बाढी पसी विधालय भवन र त्यहाँ रहेको सामग्रीमा क्षति पुर्याएको छ ।
मंगलबार राती परेको भिषण बर्षाका कारण विद्यालय नजिकै रहेको खोल्साबाट आएको पहिरोसहितको भलले क्षति पुर्याउँदा विद्यालयको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त गरेको जानकारी चन्द्रकोट गाउँपालिकाका वडाका वडाध्यक्ष फणिन्द्रराज अर्यालका दिनुभयो।
मंगलबार राती परेको पानीसँगै भल बढ्दा आएको बाढीले विद्यालयको कक्षाकोठा,फर्निचर लगायतका सामाग्रीमा क्षति पुर्याएको छ ।
झुर्म-कालिकागाउँ-तीन सिमलसम्म आउने खोल्सोमा बाढी पहिरोले विद्यालयका चारवटा कक्षाकोठा र सो सँगै रहेका फर्निचर र विभिन्न सामग्री समेत पुरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।
विद्यालय बाढी पहिरोले पुरिएपछी विधालय सफा गरि तत्काल पठनपाठन गर्ने अवस्था नभएकोले केहि दिनको लागि पूर्णरुपमा विद्यालय बन्द गरिएको वडा अध्यक्ष अर्यालले बताउनु भयो ।
यस भन्दा पहिला पनि सल्यार किसिकोट जाने मोटरबाटो खनिएसँगै उक्त क्षेत्रमा पहिरो खस्दा विद्यालयमा क्षति पुगेको थियो ।
पटक-पटकको बाढीका कारण विद्यालयमा क्षति भएको हुँदा यस स्थानमा विद्यालय सञ्चालन गर्न जोखिम भएकोले सुरक्षित स्थान खोजि विधालय भवन निर्माण गर्न त्यहाँका अभिभावकले माग गरेका छन ।