काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो । सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो ।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन् ।
कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो । अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए ।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए ।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो । इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो ।
अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए । करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए ।
समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो । दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ । दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८:१५ बजे खेल सुरु हुनेछ ।