रोल्पा । न्यायीक बाहृय संवाद कार्यक्रम परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ ।
छिटो छरितो र गुणस्तरीय न्याय, सबैको लागि न्याय, भन्ने मुलनाराको साथ जिल्ला अदालत लिबाङ रोल्पाको आयोजनामा शुक्रबार परिवर्तन गाउँपालिकाको सभाह्ल पुतलाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।
रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश खिमान्नद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला बार इकाई रोल्पाका उपाध्यक्ष अधिवक्ता दामोदरप्रसाद सुवेदी, जिल्ला अदालत रोल्पाका तहसिलदार चन्द्र प्रसाद पन्थी, नायब सुब्बा भरत कुमार विक लगायत वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, आमा समूहका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी र मेलमिलाप संयोजक लगायतको सहभागिता रहेको थियो ।
रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश खिमान्नद भुसालले न्याय कसरी पाउन सकिन्छ भनेर जानकारी गराउनुका साथै कानुनी प्रक्रियाको बारेमा जानकारी, सम्बन्ध विच्छेद गर्दा ध्यान दिनुपर्ने कुरा, वडा कार्यालयमा पञ्जिकरण सम्बन्धी काम गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनुभएको थियो ।
न्यायाधीश भुसालले अदालती प्रक्रियामा जाँदा ध्यान दिनुपर्ने कुरामा प्रमाण र आधारलाई ध्यान दिनुपर्ने जानकारी गराउनुभएको थियो । स्थानीय तह र जिल्ला अदालत बिचको अन्तरसम्बन्धको बारेमा जानकारी गराउदै रोल्पा जिल्ला अदालतका स्रेष्टदार शिवप्रसाद पराजुलीले विवाह दर्ता, जन्म दर्ता, नाता प्रमाणित ,नाता कायम, मृत्यु दर्ता, मृत्युको न्यायीक घोषणा, सम्बन्ध विच्छेद, सम्बन्ध विच्छेदको मुद्दा र व्यक्तिगत घटना दर्ता प्रमाणपत्रहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले आफ्नो पालिकाका जनप्रतिनिधि र सहभागीहरुले न्याय क्षेत्रको बारेमा केही कुरा सिक्ने अवसर प्राप्त गरेको बताउनुभएको छ । कार्यक्रमले कानुनी कुराको ज्ञान हुनुका साथै कानुनले दिएका अधिकार प्रयोग गरी वडा कार्यालयले सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभएको छ ।
रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश खिमान्नद भुसालले आफूहरूको कार्यक्रमले न्याय क्षेत्रमा काम गर्नुका साथै गाउँ ठाउँमा रहेका दूर दराजका आम नागरिकलाई कानुनको महशुस गराउन सहयोग पुग्ने विश्वास आफूले लिएको बताउनुभएको छ ।
जिल्ला अदालत रोल्पाको वार्षिक कार्ययोजना अनुसार परिवर्तन गाउँपालिकामा कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको सञ्चालन रोल्पा जिल्ला अदालतका स्रेष्टदार शिवप्रसाद पराजुलीले गर्नुभएको थियो ।

