काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन ।
ओली प्रधानमन्त्रीमा नियुक्ति भएपनि सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
यसैबीच सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन् । दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो ।
स्रोतका अनुसार, एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको हो । बालकोट स्रोतले दिएको जानकारी अनुसार एमाले ५ मन्त्रालय साना दलका लागि छाडेर १७ वटा मन्त्रालयमा भागबन्डा गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार एमालेको भागमा अर्थ सहित भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्दा कांग्रेसको भागमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, ऊर्जा मन्त्रालय,स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,कृषि मन्त्रालय र वन मन्त्रालय परेको छ भने बाँकी ५ मन्त्रालय जसपा, जसपा नेपाल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई छाडिएको छ ।