दाङ । दाङका चार स्थानीय तहले विकासका लागि एकै ठाउँ उभिने निर्णय गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासकालागि सहकार्य गर्ने निर्णय गरेका हुन् ।
आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी,शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिती गठन गरेको तुलसीपुर उपमहानगरका प्रेस संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।
समन्वय समितीको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी रहनुभएको छ ।
तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकासका लागि चारवटा पालिकालाई एकैठाउँमा उभ्याइएको तुलसीपुरका नगर प्रमुख खड्काले जानकारी दिनुभयो ।
साथै समन्वय समितीको पहिलो बैठकले चारवटा पालिकामा आवश्यक विकासका लागि हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले टरीगाउँ विमानस्थल विस्तारका लागि भदौको पहिलो साता एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी सहितको सहभागितामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन निर्णय समेत गरेको छ ।
त्यसैगरी,आगलागी नियन्त्रणका लागि अत्याधुनिक प्रविधिको दमकल खरिदमा साझेदारी गर्ने,तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर,दंगिशरण,शान्तिनगर बबईको जिला भर्याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लगि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा दंगिशरण,शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको समेत सहभागिता थियो ।