गुल्मी । आफ्नै घरको बराण्डाबाट लडेर गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौर, र्याले बस्ने करिब ३५ वर्षका कमल कुमालको आफनै घरको बराण्डाबाट लडेर मृत्यु भएको हो ।
बराण्डामा रहेको आफ्नो कोठामा सुत्न जाने क्रममा बराण्डाबाट करिब तीन मिटर तल खसेर निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
कुमाल सोमबार राती आफ्नै टिनले छाएको तीन तले कच्ची घरको बिच तलामा जोडिएको बराण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।