गुल्मी । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औ स्थापना दिवसको अवसरमा गुल्मी अस्पताललाई अत्यावश्यक सामग्री सहयोग तथा अस्पतालमा रहेका बिरामीहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ ।
सहकारी अध्यक्ष र प्रतिनिधिले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत गुल्मी अस्पतालमा आउने बिरामीहरुको सहजताका लागि बुधबार अस्पतालमा पुगेर पानी पिउनका लागि प्रयोग हुने स्टिलका गिलास अस्पतालका निमित्त प्रमुख डा.कविराज भुसाललाई र विरामीलाई पोषण सामाग्री हस्तान्तरण गरेका थिए ।
स्थापनाकाल देखि हालसम्म त्यस सहकारीले सामाजिक क्षेत्रमा झण्डै १५ लाख बराबरको विभिन्न क्षेत्रमा सहयोग गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।
आशा अपाङ्ग केन्द्र, जिल्ला कारागार, उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका विधार्थीका लागि पनि स्थापना दिवसकै अवसरमा यस अघि विभिन्न भौतिक सामग्रीहरु सहयोग गरेको उहाँको भनाई छ ।
जिल्लाकै ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगाको यज्ञशाला जाने सिढिमा आर्कषक गरुडको मूर्ति समेत स्थापना गरिसकेको अध्यक्ष पन्थीले बताउनुभयो ।
अध्यक्ष पन्थीका अनुसार यस सहकारीले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत थ्रुपैलाई कर्जा प्रवाह गरी उद्यमी बनाएको छ । खराब कर्जा एकदमै न्यून रहेको सचिव विनोद पाण्डेले बताउनुभयो । निति, विधि र प्रविधिले यस सहकारी जिल्लामै अब्बल बन्दै गएको उहाँको भनाई छ ।
२०६४ भाद्र १२ गते स्थापना भएको यो सहकारीमा १ हजार २४९ शेयर सदस्य र २३६ नाबालक सदस्य रहेको व्यवस्थापक पन्थीले जानकारी दिनुभयो । यस सहकारीको शेयर पुँजी ८ करोड ६१ लाख ९० हजार ६ सय, संस्थागत कोष ४ करोड ८२ हजार ३६४ रहेको छ ।
गुल्मी अस्पतालमा बिरामीहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरि रेसुंगा नगरपालिका वडा नं. १ मा अवस्थित आफ्नै भवनमा आई सहकारीका अध्यक्ष रामप्रसाद पन्थी, उपाध्यक्ष नारायण जिसि, सचिव विनोद पाण्डे, कोषाध्यक्ष तुल्सीराम पाण्डे, पूर्वअध्यक्ष गुणानिधि शर्मा पाण्डे, दुर्गाप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्य, शेयर सदस्य र कर्मचारीहरु सहभागितामा सहकारी स्थापनाको छलफल कार्यक्रम सम्पन्न गरिएको सचिव पाण्डेले जानकारी दिनुभयो ।