गुल्मी । गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर-८ मजुवाका मनबहादुर कुमालका १६ वर्षीय छोरा असिम कुमाललाई खोलाले बगाउँदा बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले दिएको जानकारी अनुसार आइतबार बिहान ८:३५ बजेको समयमा जालबाट माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको हो ।
निज कुमाललाई बडिगाड खोलाले बगाएको भनी टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराइएको र सूचना पाउनासाथ प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बिपत उद्धार बेस क्याम्पबाट सहायक प्रहरी नायब निरीक्षक खडग पेमीको कमाण्डमा सात जनाको टोली र स्थानीय समेत संलग्नतामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।