कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाईबाट एकै परिवारको दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार एकै परिवारका दुई जना सहित छुट्टाछुट्टै स्थानमा सर्पको टोकाईबाट ४ जनाको निधन भएको हो ।
कपिलबस्तु बुद्धभुमि-१ कपासे स्थित गिता भुसालको एकतले पक्की घरको कोठाभित्र सुतिरहेको अबस्थामा सर्पले टोक्दा १२ वर्षीय दिपक भुसाल र ९ वर्षीय प्रदिप भुसालको निधन भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । त्यस्तै कपिलबस्तु महाराजगंज-३ करहवाका बुद्धराम यादबको ३० बर्षीय श्रीमती अनिता यादबलाई घरको कोठामा परालको भुस लिन जाने क्रममा गोमन सर्पले टोक्दा निधन भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायक उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
त्यसैगरी कपिलवस्तु बुद्धभूमी-१० हरदसडिहवा केरैया रैदासको १६ वर्षीय छोरी ममता रैदासको आफ्नै कोठामा सुतीरहेको अबस्थामा सर्पले टोकेर निधन भएको छ । उनलाई उपचारको लागी गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लगेकोमा उक्त स्थानमा उपचार हुन नसकी थप उपचारको लागी जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएकोले प्रहरीले जनाएको छ ।
पछिल्लो समय कपिलवस्तुमा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढेकाले सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।