रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम फेरि सुकिदह गाउँपालिका राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गाउँपालिकाको केन्द्र हाल ५ नम्बर वडाको सानडाँडामा रहेकोमा अब वडा नम्बर २ को सुखाओडार (जिनावाङ) रहने भएको छ ।
८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी सिफारिस गर्ने निर्णय गरेको थियो । असोज २०८० मै लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने निर्णय थियो ।
२०७२ मा गाउँपालिका कायम हुँदा गंगादेव गाउँपालिकाको नाम सुकिदह नै थियो । २०७४ मा नेकपा माओवादी केन्द्रले जितेपछि सहिदको नाम भन्दै गंगादेव गाउँपालिका कायम गरिएको थियो । सुखाओडारबाट सानडाँडामा केन्द्र सारिएको थियो ।
आफ्नै श्रीमती र आफन्तको नाममा पालिकाको नाम राखेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष वीरबहादुर खत्रीको आलोचना भएको थियो । विरोधकै बीचमा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेसँगै नाम फेर्ने प्रक्रिया सुरु भएको थियो ।
गाउँ कार्यपालिकाको निर्णय :
१७ असार २०८० मा बसेको कार्यपालिकाको बैठकले पालिकाको नाम ‘सुकिदह’ नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको थियो । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन गाउँसभामा पेश गर्ने निर्णय भएको र रोल्पाको गंगादेव गाउँपालिकाको गाउँसभा ३१ असार २०८० मा भएको गाउँपालिका अध्यक्ष हरि बहादुर पुनमगरले जानकारी दिएका थिए ।
अध्यक्ष पुनले गाउँपालिकाको नाम परिवर्तन गर्ने आफ्नो चुनावी घोषणा प्रतिवद्धतामा भएको र सोही अनुसार आफूहरू अगाडि बढेको बताएका थिए । १७ असार २०८० को गाउँ कार्यपालिकाको बैठकले प्रस्ताब टेबुल गरेको र ३१ असार २०८० मा गाउँसभामा निर्णय सार्वजनिक गरी आमभेलालाई सम्बोधन गर्ने गरि पालिकाको नाम सुकिदह लाई मन्त्रीपरिषद सम्म फ्लोअफ गर्ने समेत अध्यक्ष पुनले उद्धोष गरेका थिए ।
स्थानीय तह निर्वाचन वि.सं.२०७९ दोस्रो स्थानीय तह वैशाख ३० गतेको निर्वाचनबाट नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्ष हरि बहादुर पुन मगर निर्वाचित भए भने पहिलेकै नाम सुकिदह फर्काउने पक्षमा थिए ।
सुकिदह गाउँपालिकाको नाम गाउँसभामा पेश भएपनि स्थानीय तहको उक्त निर्णय मन्त्रीपरिषदले अनुमोदन गर्नुपर्थ्यो । गंगादेव गाउँपालिकाले सुकिदहको नाममा मुर्तरुप पाउन कानुनी व्यवधानहरुलाई पन्छाउन सक्छ वा सक्दैन ? त्यो भने हेर्न बाँकी छ । भनेर धेरैले प्रश्न गरेका थिए । तर आज लामो समयको प्रतीक्षा पछि पहिलेकै नाम सुकिदह गाउँपालिका हुन पुगेको छ ।
