काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको नेपाली कांग्रेस बाढी पहिरो पिडित राहत तथा पुनर्स्थापना समन्वय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । उक्त बैठकमा देहाय अनुसारका निर्णय भएका छन ।
१. नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको असोज १३ गते बसेको बैठकले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नु परेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनर्स्थापना लगायतका सन्दर्भमा गरेको निर्णयमा उल्लेख भएका बिषय, यस बीचमा पार्टीको स्थानीय साथीहरू तथा जनप्रतिनिधिहरूबाट प्राप्त सुझाव समेत समावेश गरेर अबिलम्ब काम गर्न पार्टीको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुझावपत्र बुझाउने ।
२. बाढी पहिरो बढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनर्स्थापनाका सन्दर्भमा थप क्रियाशील बनाउन नेपाली कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराउने । त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने ।
३. बाढी र पहिरोबाट पिडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनर्स्थापना कार्य लगायतमा प्रभावकारी ढङ्गले काम गर्न गराउन नेपाली कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारहरूलाई क्रियाशील बनाउने । यसका लागि पार्टी स्थानीय समितिले समन्वय सहजीकरण गर्ने ।
४. बाढी पहिरो प्रभावित जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसंग समन्वय गरी पार्टीले उद्धार, राहत र पुनर्स्थापना कार्यमा अग्रसरता लिने, आवश्यक समन्वय गर्ने ।
५. नेपाल लोकतान्त्रिक इन्जिनियर्स एशोसिएशन (सिडेन) को संयोजनमा डिपान तथा सम्बन्धित संघ संस्थाका प्रतिनिधि सम्मिलित विज्ञ समुह गठन गरी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने । यसका लागि स्थानीय पार्टी कार्यसमितिले समन्वय गर्ने ।
६. नेपाल विद्यार्थी संघको संयोजनमा बाढी पहिरोले क्षति बनाएका र प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारका लागि तत्काल राहत आवश्यक भएको स्थान पहिचान गरी स्थानीय प्रशासन र स्थानीय सरकारसग समेत समन्वय गरी राहत सामाग्री उपलब्ध गराउने ।
७. नेपाल महिला संघको संयोजनमा बाढी पहिरो ग्रस्त र प्रभावित समुदायमा सचेतना र तहगत सरकारसँग समन्वय गरी स्वास्थ्य शिविर लगायतका कार्यक्रम संचालन गर्ने ।
८. नेपाल तरुण दलको संयोजनमा लोकतान्त्रिक खेलकुद संघसँग समेत समन्वय गरी बाढीले भत्काएका संरचनाको व्यबस्थापन तथा बाढी र नदिजन्य फोहोर पसी निजी तथा सार्वजनिक स्थानमा भएका अवरोध हटाई आवश्यक स्थानमा स्थानीय सरकारसँगको समन्वयमा अस्थायी आवास संरचना निर्माण गर्ने ।
९. उपरोक्त सबै कार्यमा पार्टीको सबै तहमा क्रियाशील साथी तत्त-त् स्थानमा सहभागी भई वा आ-आफ्नो स्थानबाट तन मन र धनले सहयोग गरी गराई उद्धार, राहत र पुनर्स्थापनाको यो अभियानमा सरिक हुने ।
उक्त बैठकले माथिका निर्णयहरु गरेको कांग्रेस केन्द्रीय कार्यालयका का.वा मुख्य सचिव डा.प्रदिप पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।