अर्घाखाँची । चाडपर्वको समयमा हुने कालो बजारी तथा उपभोक्ताको हित विपरित हुने कार्य हुन नदिन अर्घाखाँचीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।
खाद्य व्यवस्थापन तथा आपुर्तीको विषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले चाडबाडको समयमा उपभोक्ताहरु बढी ठगीने भएकाले अनुगमन प्रभावकारी बनाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनुभयो ।
प्रशासनले चाडवाड लक्षित बजार अनुगमन गर्ने गरेको भएपनी अन्य समयमा बजारमा बेथीती हुने गरेको आरोप लाग्ने गरेकोमा यसको अन्त्य गर्दै सबै सिजनमा बजारको अनुगमनमा आफ्नो टिम खटिने प्रजिअ अर्याललको भनाइ छ ।
अर्घाखाँचीमा विभिन्न कारणबाट राजस्व चुहावट भएकाले यसलाई रोक्ने विषयमा समितिको बैठक सम्पन्न भएको छ । दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, कारोवारमा बिल नकाट्ने, अन्डर विलिंग गरेको तथा मनलागी मुल्यमा सामाग्री बेच्ने जस्ता कार्यबाट राजस्व चुहावट भएको बैठकको निष्कर्ष छ ।
अनुगमनको क्रममा अवैध रुपमा कारोबार गरेको भेटिए कडा भन्दा कडा कारवाही गर्ने पनि बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनुभयो ।
भर्खरै मात्र अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका अर्यालको नजर बजारमा परेको छ । गत साता पनि अर्याल आफै बजार अनुगमनमा खटिनुभएको थियो ।
उपभोक्ताको हितकै निम्ति प्रशासनको नजर बाहृैमहिना बजारमा पर्न सकेमा मात्र कालो बजारी, ठगी तथा चुहावट जस्ता कार्य नियन्त्रण हुनेमा स्थानीय विश्वस्त छन् ।
बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संघ जस्ता व्यवसायी संगठनका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।