गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले लामो समयदेखि सर्वसाधारणले प्राप्त गर्न नसकेको राष्ट्रिय परिचयपत्र कार्डलाई आगामी बिहीबार कार्तिक ८ गतेदेखि जिल्लाका सबै वडा तहमा पुगेर वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको जिल्लास्थित राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सर्वपक्षीय जिल्ला अन्तरक्रिया कार्यक्रममा बिहिवारदेखि वडा तहमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दिनुभएको जानकारी अनुसार पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडामा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको र बाँकी रहेका स्थानीय तहमा तिहार पछि वितरण कार्य सुरु गरिने छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले वडा तहमा आएको सेवा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानलाई सफल बनाउन स्थानीय तहका प्रतिनिधि र स्थानीय सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने भएकोले प्रचारप्रसारका साथै समुदायका व्यक्तिलाई अभियान र परिचयपत्रको महत्त्वको बारेमा बुझाउनु जरुरी रहेको बताउनुभयो ।
समन्वय प्रमुख खत्रीले सरकारी तथा अन्य निकायबाट नागरिकको हितका लागि संचालन गर्ने घरदैलो सेवाबाट अधिकतम लाभ लिन सम्पूर्ण नागरिकलाइ आग्रह समेत गर्नुभयो। गुल्मी जिल्लामा स्थानीय र जिल्ला प्रशासन कार्यालयमा विवरण संकलन गरि पठाइएका व्याक्तिहरुको राष्ट्रिय परिचयपत्र(कार्ड)छापिएर आएको र सेवाग्राहीको सहजताका लागि आगामी विहिवारदेखि वडा तहमा पुगेर वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र लिँदा पुनःजैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता,राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर तोकिएको केन्द्रमा आउनुपर्ने जानकारी समेत प्रमुख जिल्ला अधिकारी शर्माले गराउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड भने जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासंगको अन्तरक्रियामा यस जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक लाख ९४ हजार ४ सय ३२ जनाको विवरण संकलन भएकोमा एक लाख ६४ हजार ४ सय २३ जनाको कार्ड छपाई भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले जानकारी गराउनुभयो ।
कार्यक्रममा निर्देशक दाहालले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६६ हजार ३ सय १५ जनाको विवरण संकलन गरिएकोमा ४० हजार ६ सय ९४ जनाको कार्ड छापिएकोमध्ये हालसम्म प्रशासन कार्यालयबाट पाँच हजार ४ सय ६१ जनालाई कार्ड वितरण गरिएको पाइएको जानकारी दिनुभयो ।
अहिले वडा तहमै पुगेर अभियानका क्रममा विवरण संकलन गरेर छापिएर आएका कार्डहरुलाई पुनःवडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिदै निर्देशक दाहालले बताउनुभयो ।
अभियानका क्रममा यस जिल्लाको रेसुङ्गा नगरपालिकाबाट १३ हजार २७ जनाको विवरण संकलन गरिएकोमा १२ हजार ५ सय ४२ जनाको,मुसिकोट नगरपालिकाबाट १४ हजार ६ सय ४१ जनाको विवरण संकलन गरिएकोमा १३ हजार ९ सय ५ जनाको,कालीगण्डकी गाउँपालिकाबाट नौ हजार २३ जनाको विवरण संकलन गरिएकोमा आठ हजार ७ सय ८२ जनाको र सत्यवती गाउँपालिकाबाट १० हजार ६ सय ४४ जनाको विवरण संकलन गरिएकोमा १० हजार ४ सय २२ जनाको कार्ड छापिएको जानकारी निर्देशक दाहालले दिनुभयो ।
निर्देशक दाहालले चन्द्रकोट गाउँपालिकाबाट नौ हजार २ सय १२ जनाको विवरण संकलन गरिएकोमा आठ हजार ९ सय १४ जनाको, छत्रकोट गाउँपालिकाबाट १० हजार ३ सय ९३ जनाको विवरण संकलन गरिएकोमा १० हजार ५५ जनाको, गुल्मीदरबार गाउँपालिकाबाट ११ हजार ५२१ जनाको विवरण संकलन गरिएकोमा ११ हजार २ सय ५८ जनाको, इस्मा गाउँपालिकाबाट नौ हजार ३ सय ४६ जनाको विवरण संकलन नौ हजार ५० जनाको कार्ड छापिएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिकाबाट १० हजार ७७३ जनाको विवरण संकलन गरिएकोमा १० हजार ३ सय ८१ जनाको, मदाने गाउँपालिकाबाट नौ हजार ७ सय ४६ जनाको विवरण संकलन गरिएकोमा नौ हजार ३ सय ४३ जनाको र मालिका गाउँपालिकाबाट १० हजार २ सय १५ जनाको विवरण संकलन गरिएकोमा नौ हजार ८ सय ५७ जनाको कार्ड छापिएको दाहालले बताउनुभयो ।
पहिलो चरणमा गुल्मीका स्थानीय तहका वडामा पुगेर राष्ट्रिय परिचयपत्र बनाउनका लागि वैयक्तिक र जैविक विवरण संकलन अभियान संचालन गरिएको थियो भने अहिले सातौं जिल्लाका रुपमा गुल्मीमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्डलाई वडामै पुगेर वितरण अभियान सुरु गर्न लागिएको हो ।