रुपन्देही । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ ।
भैरहवाको लुम्बिनी रोडबाट रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन् । आज बुद्धचोकमा कोणसभा गर्ने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले बताए ।
पार्टीले हिजो पनि सोही ठाउँमा विरोध सभा गरेको थियो । बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो । अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।