गुल्मी । गुल्मीमा पाकेर बिक्री गर्ने समयमा सुन्तलाका बोटमा देखिएको पहेँलो रोगको प्रकोपबाट कृषकहरु चिन्तित बनेका छन।
बिक्रिका लागि टिपेर बजार लैजाने समयमा सुन्तलाको बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँलो भएर झर्ने समस्या देखिएपछि गुल्मीका सुन्तला कृषक चिन्तित बनेका हुन।
गुल्मी जिल्लाका सुन्तला उत्पादन हुने रेसुङ्गा नगरपालिका,धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकामा ब्यबसायिक खेती गरेका कृषकको बगैचामा रहेका बोटहरुमा यो समस्या बढी देखिएको छ।
आफ्नो बगैचामा सुन्तला पाक्ने समयमा अचानक पहेंलो रोगको प्रकोप देखिएको र सुन्तला झर्न थालेको गुनासो रेसुङ्गा नगरपालिका –५ का ब्यबसायिक सुन्तला खेती गर्दै आउनुभएका डिलबहादुर सुनारले ब्यक्त गर्नुभयो ।
एक हजार वटा भन्दा धेरै सुन्तलाका बोटहरु लगाउनु भएका धुर्कोट गाउँपालिका-७ वाग्लाका किसान धनराज पौडेलेको सुन्तला बगैचामा पनि बोट पहेलो हुने रोग देखा परेको बताउनुभयो ।
गत वर्ष चार लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैँचामा रोगका कारण अहिले एक लाख रुपैयाँको सुन्तला बिक्री गर्न पनि समस्या रहेको गुनासो गर्नुभयो।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले सुन्तलाका बोटको फेदमा बढी चिसोपना भएकाले रोग देखा पर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न ढुसी नासक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो ।
फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेकाले तोकिएको मात्रामा ढुसीनासक विषादी प्रयोग गर्न सुझाब दिनुभयो ।
कतिपय बिरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले मलजल गर्दा उचित ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लाका बिभिन्न पालिका र कृषकहरुबाट सुन्तलाका बोटमा रोगको प्रकोप देखिएको गुनासो प्राप्त भएकोले रोग नियन्त्रणका लागि बगैंचा व्यवस्थापन र रोग नियन्त्रण सम्बन्धी तालिम प्रदान गर्ने गरी योजना बनाएर जाने तयारी गरिएको कार्यालयले जनाएको छ।
जिल्लामा कृषकहरुले परम्परागत रुपमा खेती गर्नु,बगैचामा सुक्ष्म तत्व,मलखादको प्रयोग नगरेका कारण बोट तथा फलहरुमा रसिलोपनमा कमी आउनु, विभिन्न रोगहरु देखा पर्नु, सिँचाइ तथा बोटहरुको काँटछाँटमा कम ध्यान दिनु लगायतका समस्या रहेको ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
जिल्लामा गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, बिरुवाहरुको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने,जालीघर पद्धतीमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, जिल्लामा बिजु बिरुवा रोपणको कार्यलाई पूर्ण रुपमा अन्त्य गर्ने गरी कार्यालयले काम गरिरहेको जनाएको छ ।
स्थानीय तहका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी रुपमा रोगकीराको ब्यबस्थापन गर्ने,उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाइ,ग्रेडिङ,भण्डारण,ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी योजना बनाएको प्रमुख भण्डारीले बताउनुभयो।
गुल्मी जिल्लामा फल दिने र नदिने गरी करिव एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय भन्दा बढी सुन्तलाका बिरुवा रोपिएको मध्य ७० प्रतिशत बोटबाट सुन्तला उत्पादन हुने गरेको जानकारी समेत प्रमुख भण्डारीले दिनुभयो।