गुल्मी । आलु खेतीको ब्यवसायिक उत्पादनलाई प्रवर्धन गर्ने उदेश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बिउ वितरण गरेको छ ।
आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आलु कृषकको आयस्रोत वृद्धि गर्ने उदेश्यले रेसुंगा नगरपालिका वडा नम्बर ४,६,र ११ का कृषकहरुलाई नगरपालिकाद्धारा कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरिएको रेसुंगा नगरपालिका कृषि शाखाले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिकाभित्र आलु उत्पादनको प्रचुर सम्भावना रहेकोले किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।
साथै नगरप्रमुख पन्थीले आलु लगाउने समयमा नै नगरपालिकाले किसानलाई बिउ उपलब्ध गराएकोले उत्पादन बढी लिन समयमै लगाउन आग्रह गर्दै उत्पादित आलुको बजारीकरण र प्राविधिक सहयोगको लागि पनि कृषकलाई नगरपालिकाले जुनसुकै समयमा पनि सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
रेसुंगा नगरपालिकाले आलुसंगै माटोको परीक्षण गरि अन्य वडाहरुमा पनि माटो सुहाउदो खाधान्न, तरकारी र फलफुल खेती पकेट क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको र यो आर्थिक विकास अभियानलाई सहयोग पुर्याउने उदेश्यले यसै आर्थिक वर्ष देखि अमेरिकी सहयोग नियोग (युएसआइडी) को आर्थिक सहयोगमा रिकोफ नेपाल र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको संयुक्त पहलमा स्थानीय मागमा आधारित आर्थिक विकास कार्यक्रम संचालन हुन लागेको जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिकाले गत आर्थिक वर्षमा बीउ प्रयोजनका लागि आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याएको र कृषकको माग अनुसार जनकदेव आलु वितरण गरिएको नगर उपप्रमुख अमृतादेवी कुँवरले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्षमा वितरण गरेको आलुको बिउबाट कृषकले यस वर्ष परिणम देखिने गरि काम गर्न उपप्रमुख कुँवरले आग्रह गर्नुभयो ।
नगरपालिकाले नगरभित्रका वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेको र आर्थिक वर्ष २०८१/२०८२ मा नगरपालिकाको वडा नम्बर ४, ६ र ११ मा आलु पकेट विकास कार्यक्रम अन्तर्गत किसानलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको कृषि शाखा प्रमुख श्रृजना मरासिनीले बताउनुभयो ।
अन्य जातको आलुभन्दा पनौतीको जनकदेव आलु निकै स्वादिलो र उत्पादन पनि धेरै हुने भएकोले यही जातको आलुको बीउ गुल्मीमा ल्याएको कृषि शाखाले जनाएको छ । गुल्मी जिल्लामा उत्पादित आलुले बुटवल र काठमाडौँ सम्मको बजार पाएको छ ।
गत वर्षदेखि जिल्लाको मालिका गाउँपालिकामा उत्पादन भएको रैथाने आलुले ब्राण्डिङ्ग र प्याकेजिङ्ग सहित बुटवल र काठमाडौं लगायतका बजार क्षेत्रमा राम्रो बजार पाएको बताइएको छ ।