गुल्मी । करदाता सेवा कार्यालय गुल्मीको आयोजनामा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह -२०८१ को अवसरमा उत्कृट करदाताहरू सम्मान तथा विविध जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन।
कार्यालयले गुल्मी जिल्लामा राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसर पारेर गुल्मीमा उत्कृष्ट करदाताहरूलाइ सम्मान,रेसुंगा नगरपालिका,चन्द्रकोट लगायतका क्षेत्रमा कर शिक्षा तथा अन्तरक्रिया र जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरिएको करदाता सेवा कार्यालयका प्रमुख विक्रम पन्थीले बताउनुभयो ।
शुक्रबार सदरमुकाम तम्घास उधोग वाणिज्य संघको हलमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जिल्लाका उत्कृष्ट करदाताहरु मध्ये बढी आयकर राजस्व दाखिला गर्ने निर्माण कम्पनी तर्फ अर्जुन विल्डर्स एण्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेड,वित्तीय सेवा तर्फ गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड,उद्योग तर्फ बविता फर्निचर उद्योग लगायत प्रत्येक पालिका अनुसार बढी आयकर राजस्व दाखिला गर्ने १६ करदाता,जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पुरस्कृत हुने प्रतियोगी र कार्यलयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरि गरिएको थियो।
यसरी सम्मानित हुनेहरूमा अर्जुन बिल्डर्सका एण्ड कन्स्ट्रक्सन प्रालीका सञ्चालक लक्ष्मी खनाल गुल्मी युनाइटेड साकोसका अध्यक्ष राम प्रसाद पन्थी, बविता फर्निचर उद्योगका शेर बहादुर थापा, विजय खनाल, चोक बहादुर कुँवर, रिसीराम पाण्डे, बिर बहादुर थापा, जमुना न्यौपाने, चन्द्र प्रसाद श्रेष्ठ, राजु कार्की, डा. सुदर्शन थापा, हरि बहादुर खत्री, नरेन्द्र बिक्रम जिसी, आशा थापा, मनिराम थापा एवं विमल अर्याल रहेका छन ।
करदाता सेवा कार्यालय गुल्मीले दिएको जानकारी अनुसार जिल्लामा रहेका सम्पुर्ण व्यवसाय मध्य सबैभन्दा बढी आय कर तिर्ने अर्जुन बिल्डर्सका एण्ड कन्स्ट्रक्सन प्रालीले आर्थिक वर्ष २०७९/०८० मा २५ लाख ३६ हजार ३ सय १७ रूपैंया र गुल्मी युनाइटेड साकोसले करिब १२ लाख ४४ हजार रुपैया आयकर भुक्तानी गरेका थिए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले यस्ता कार्यक्रमले नागरिकमा समयमा कर तिर्ने बानीको विकास भएको विचार राख्दै यसबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने भएकोले आफुले भुक्तानी गर्नुपर्ने कर समयमै दाखिला गर्न आग्रह गर्नुभयो।
मन्त्री पन्थीले सरकारको ढुकुटीमा पर्याप्त बजेट नहुँदा सरकारले व्यवसायीहरूले काम सम्पन्न गरेको रकम समेत समयमा भुक्तानी दिन नसकेको तर्फ संकेत गर्दै ति समस्याको समाधानका लागि प्रदेश सरकारले चाँडै योजना बनाएर समाधान गर्ने प्रक्रियामा लागिरहेको बताउनुभयो।
नागरिकहरूमा सरकारले कर कहरले हैन, रहरले तिर्ने बातावरण बनाउनु पर्ने,दण्ड जरिवानाले मात्र राजस्वको आकार बढन नसक्ने हुँदा करको दायरा फराकिलो बनाएर जानुपर्ने र सहजीकरण गर्नुपर्ने धारण ब्यक्त गर्दै कार्यक्रमा बोल्ने अधिकांश बक्ताहरुले सरकार कर कर मात्र भन्दछ,समयमा काम सम्पन्न गरे पनि भुक्तानी नगर्दा व्यवसायीहरू आर्थिक समस्यामा परेको,देशमा उत्पन्न आर्थिक मन्दीका कारण व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो व्यक्त गरेका थिए।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह -२०८१ को अवसरमा कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार” विषयक जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो । प्रतियोगितामा आकृति अर्याल प्रथम, सुजाता कुँवर द्वितीय, करिना टण्डन तृतीय र रितीका गौतम सान्त्वना बनेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिनुभयो।
कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुख, विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं व्यावसायीहरूको सहभागिता रहेको थियो ।