गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका वडा नम्बर-१ मा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राखी मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा प्रकाशित सूचना अनुसार यहि मङ्सिर १६ गते यस जिल्लाको मुसिकोट नगरपालिका –१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी मंसिर १३ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म उक्त क्षेत्रमा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
उपनिर्वाचनलाई स्वच्छ,भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न बिहीबार देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म उक्त वडा र आसपासको क्षेत्रमा मदिरा बिक्री–वितरण,ओसारपसार तथा सेवन गर्नमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम उपनिर्वाचन हुने यस वडाभित्र मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको हो ।
यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
मुसिकोट नगरपालिका-१ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरि ८ जना चुनावी मैदानमा उत्रेका छन ।
उक्त वडामा हुन लागेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार रहेका छन ।