गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर- १ मा आइतवार सम्पन्न भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले निकतम प्रतिद्वन्द्वी भन्दा २ सय ५४ मतान्तरले विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार विजयी उम्मेदवार आनन्द श्रेष्ठले एक हजार १ सय ८४ मत ल्याउदा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दलबहादुर थापाले ९सय ३० मत प्राप्त गर्नुभएको छ।
सार्वजनिक गरिएको निर्वाचनको मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गाबहादुर विकले १ सय ४३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका इश्वरी खाती क्षत्रीले पाँच मत प्राप्त गर्नुभएको छ।
कुल खसेको २ हजार ३ सय ३४ मत मध्य हात मिलाएको चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवारले एक मत प्राप्त गर्नुभयो भने २८ मत बदर भएको छ।
२०७९ सालमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको गत भदौ २ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । २०७९ को गठबन्धनको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेले ३९ मतको अन्तरमा विजय हासिल गर्नुभएको थियो ।
२०७९ को निर्वाचनमा घिमिरेले एक हजार एक सय ८२ मत ल्याउदैँ वडाध्यक्षमा निर्वाचित भएका थिए भने निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका नारायण बहादुर थापाले एक हजार एक सय ४३ मत प्राप्त गरेका थिए
कुल ४ हजार ९१ मतदाता रहेको वडामा तीन मतदान स्थलका पाँच मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।
वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री र तीन जना स्वतन्त्र उम्मेदवार गरि ८ जना चुनावी मैदानमा उत्रेका थिए।
मुसिकोटसहित जिल्लाका कुल तीन जनाको पद रिक्त थियो।गुल्मी दरबार गाउँपालिका -४ का एमालेबाट निर्वाचित वडा सदस्य अम्मर बहादुर सोनामी र छत्रकोट गाउँपालिका -५ कि काँग्रेसबाट निर्वाचित वडा सदस्य उर्मिला आचार्य नेपालीको पद रिक्त छ ।
सोनामीको मृत्युको कारण र नेपालीले दल त्याग गरेका कारण पद रिक्त भएको हो । वडा सदस्यको लागि उपचुनाव नहुने भएकोले गुल्मीमा वडाध्यक्षको लागि मात्रै उपचुनाव भएको हो ।