काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार भोगेको छ ।
आज भएको खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । चितवनले दिएको १६५ रनको चुनौती पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो ।
हालसम्म चार चार खेल खेलेका चितवन र सुदूरपश्चिमले समान तीन जित र एक हार ब्यहोरेका छन् । आजको खेलमा सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जोडे ।
सैफ अली जैबले १८ रन जोडेको खेलमा स्कट कुगेलेइनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवा १२ र नरेन साउद १० रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।
बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।
त्यसअघि टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।